जनकपुरधाममा बैंक खातासमेत असुरक्षित बन्दै गएको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ निवासी रतिश कर्णकी श्रीमती रजनी कर्णको नबिल बैंकमा रहेको खाताबाट उनको जानकारी र स्वीकृतिबिनै ७० हजार १० रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको पाइएको हो ।
पिडारी चोकस्थित नबिल बैंक शाखामा रहेको कर्णको खाताबाट मोबाइल बैंकिङमार्फत प्राइम कमर्सियल बैंकमा रहेको मो. शेख फैजल जमालको खातामा रकम ट्रान्सफर भएको बैंकको स्टेटमेन्टमा देखिएको छ । बैंक स्टेटमेन्टअनुसार रजनी कर्णको नबिल बैंक खाता नम्बर ०५२१००१७५०९०७४ बाट प्राइम कमर्सियल बैंकमा रहेको मो. शेख फैजल जमालको खाता नम्बर ०१९०१०००००००१७३२४६८० मा सेप्टेम्बर २० मा ७० हजार १० रुपैयाँ ट्रान्सफर भएको हो । आफूले कुनै कारोबार नगरेको अवस्थामा खातामा रहेको रकम घटेको देखेपछि कारोबार विवरण हेर्दा अनधिकृत रूपमा रकम निकासा भएको थाहा पाएको रजनीले बताएकी छन् । त्यसपछि बैंकमा पुग्दा आफ्नो खाताबाट ह्याकरले रकम निकासा गरेको जानकारी पाएपछि प्रहरीमा उजुरी दिएको उनको भनाइ छ ।
रजनीले सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिँदै घटनाको निष्पक्ष अनुसन्धान गरी आफ्नो खाताबाट कुन माध्यम, कहिले र कसरी रकम निकासा भएको हो भन्ने यकिन गर्न तथा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेकी छन् । उनले आफूबाट अनधिकृत रूपमा निकालिएको रकमसमेत फिर्ता गराइदिन सम्बन्धित निकायसँग आग्रह गरेकी छन् । निवेदनमा नबिल बैंकको पिडारी चोक शाखाबाट खाता ‘हाइजेक’ गरी प्राइम कमर्सियल बैंकमार्फत रकम निकासा गरिएको उल्लेख गरिएको छ । यद्यपि रकम कसरी र कुन प्रविधि प्रयोग गरेर ट्रान्सफर भयो भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको छ । प्राप्त जानकारीअनुसार प्रहरीले सोमबार नै नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंकहरूलाई घटनासम्बन्धी विवरण पठाउँदै अनुसन्धानका लागि आवश्यक सूचना उपलब्ध गराउन माग गरेको छ । यसैबीच, धनुषामा बैंकिङ कसूर तथा ठगीसम्बन्धी घटनाहरू बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । धनुषामा बैँकिङ्ग अपराधको मुद्दामा बढदै गएको छ ।
गत भदौ महिनामा बैंँकिग कसूरको ४ र ठगीको १३ तथा साउन महिनामा बैँकिङ्ग कसूरको ११ र ठगीको १४ वटा मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् । उनले भने यी घटना बैँकिग ठगीसँग सम्बन्धित छ । मोबाइल बैंकिँग मार्फत रकम ट्रान्सफर भएको प्रत्येक महिना एक दर्जनभन्दा बढी घटना दर्ता भइरहेको छ । यस्ता धेरै घटनाको समाधान पनि भएको छ र केही अनुसन्धानमा रहेको छ । बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको पछिल्लो घटनाले डिजिटल बैंकिङको सुरक्षामाथि समेत प्रश्न उठाएको छ । घटनाको वास्तविकता, रकम ट्रान्सफरमा प्रयोग भएको माध्यम र संलग्न व्यक्तिको पहिचान भने प्रहरी अनुसन्धानपछि स्पष्ट हुने देखिएको छ ।


