२०८३ आश्विन ६, मंगलवार १०:१२

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो ।

उहाँले यही ९ गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ । सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ ।

प्रधानमन्त्री शाहले गएको भदौ १० मा नेपाल–चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको बाढी र त्यसले पारेको असर तथा जलवायुजन्य चुनौतीबारे धारणा राख्ने तयारी छ ।

महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नुभएको छ । परराष्ट्रमन्त्री खनाल असोज १३ गते मंगलबार स्वदेश फर्किनुहुनेछ ।

यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

Comment

Related News

Latest News

Trending News