२०८३ आश्विन ८, बिहीबार ११:०२

आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी असोज ९ गते शुक्रबार र १० गते शनिबार भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको हो। महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्सा अनुसार, आगामी चार दिन देशभर मौसमी जोखिमको स्तर फरक-फरक रहनेछ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको जोखिम कम रहे पनि बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका धेरैजसो भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

वर्षाको मुख्य जोखिम असोज ९ गते शुक्रबारदेखि सुरु हुने चेतावनी नक्साले देखाउँछ। शुक्रबारका दिन पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने चेतावनी दिइएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका मध्य तथा हिमाली/पहाडी क्षेत्रमा अति भारी वर्षाको उच्च जोखिम रहनेछ।

यस्तै, असोज १० गते शनिबार वर्षाको जोखिम पश्चिमतिर सर्नेछ। शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा ‘अति सतर्कता’ अपनाउन चेतावनी दिइएको छ। सो दिन देशका बाँकी पश्चिमी तथा मध्य क्षेत्रहरूमा पनि सतर्क रहनुपर्ने छ भने पूर्वी भूभागमा भने वर्षाको प्रभाव केही घट्दै जाने अनुमान गरिएको छ।

असोज ११ गते आइतबारदेखि भने मौसमी जोखिम क्रमशः कम हुँदै जानेछ। आइतबार देशका पश्चिमी भूभागमा सामान्य सतर्कता अपनाउनु पर्ने छ भने पूर्वी भूभागमा वर्षाको खासै जोखिम नरहने महाशाखाले उल्लेख गरेकाे छ।

अविरल र भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो, भू-क्षय तथा तराई र शहरी क्षेत्रमा डुबान र बाढीको उच्च जोखिम रहने भएकाले महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। विशेष गरी असोज ९ र १० गते यात्रा गर्दा मौसमी अवस्था बुझेर मात्रै निस्कन जल तथा मौसम विज्ञान विभागको सुझाव छ।

Comment

Related News

Latest News

Trending News