२०८३ आश्विन ८, बिहीबार १३:४१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्णरूपमा ध्वस्त पार्ने’ चेतावनी दिएपछि इरानले अमेरिकी दबाबसामु नझुक्ने र थप आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ । राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरानविरुद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनुभएको थियो ।

इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो । त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाब र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाबसामु नझुक्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँले इरान युद्ध अन्त्यका लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न तयार रहेको, तर धम्की र सैन्य दबाब स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि सञ्चालन गर्ने अधिकार पनि नत्याग्ने जनाएको छ ।

इरानी सैन्य नेतृत्वले समेत अमेरिकाबाट थप आक्रमण भए त्यसको अझ कडा र अप्रत्याशित जवाफ दिने चेतावनी दिएको छ । इरानी अधिकारीहरूले अमेरिकी सैन्य कारबाही जारी रहे त्यसको असर क्षेत्रीय अमेरिकी सैन्य आधार र स्वार्थमा पर्न सक्ने चेतावनी दिँदै आएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा अमेरिका र इरानबीच मध्यस्थमार्फत अप्रत्यक्ष वार्ता पनि भएको छ । अमेरिकी विशेष दूत स्टिभ विट्कफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताले वार्तालाई निरन्तरता दिने बताएका छन् ।

इरानले भने वार्ताका लागि अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र युद्ध अन्त्य गर्नुपर्ने लगायतका सर्त अघि सारेको छ । रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषय पनि वार्ताको प्रमुख मुद्दा बनेको छ ।

Comment

Related News

Latest News

Trending News