२०८३ आश्विन ९, शुक्रबार ०७:४९

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाएको छ ।

समूहले ७७ मध्ये ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्दै संगठनात्मक गतिविधि अघि बढाएको छ । रुकुम पश्चिममा भने हालसम्म प्रतिनिधि तोकिएको छैन । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तथा आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही तयारीअनुसार डा. कोइरालाले आयोजक समितिको संयोजकका रूपमा हस्ताक्षर गर्दै जिल्लागत रूपमा केन्द्रीय प्रतिनिधि खटाएका छन् ।

देउवा समूहले मधेश प्रदेशका सबै आठ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । प्रदेशका जिल्लामा संगठनात्मक तयारी र अधिवेशन प्रक्रियालाई अघि बढाउने जिम्मेवारीसहित प्रतिनिधि खटाइएको छ । मधेश प्रदेशको सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेश प्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो. मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपानेलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

मधेशका आठ वटै जिल्लामा प्रतिनिधि तोकिएसँगै वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशनसम्बन्धी गतिविधि अघि बढाउने बाटो खुलेको देउवा समूहका नेताहरूले बताएका छन् । प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा पुगेर अधिवेशनको तयारी, संगठन परिचालन तथा स्थानीय तहका कांग्रेस कार्यकर्तासँग समन्वय गर्ने अपेक्षा गरिएको छ । देउवा समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार, झापामा कृष्ण हुमागाईं, संखुवासभामा दीपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजीमय, ओखलढुंगामा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्कीलाई प्रतिनिधि तोकेको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पनि प्रतिनिधि खटाइएको छ। कर्णालीको रुकुम पश्चिममा भने प्रतिनिधि तोकिएको छैन ।

देउवा समूहका नेता दीपक खड्काका अनुसार जिल्लागत प्रतिनिधि तोक्ने कामसँगै निर्धारित कार्यतालिकाअनुसार अधिवेशनको तयारी अघि बढाइनेछ। समूहले समानान्तर रूपमा महाधिवेशन गर्ने तयारी गरेपछि नेपाली कांग्रेसभित्रको संगठनात्मक विवाद र शक्ति संघर्ष थप सतहमा आएको छ । आगामी असोज १५ देखि शुरु हुने भनिएको वडा अधिवेशन र मंसिरमा प्रस्तावित केन्द्रीय महाधिवेशनले पार्टीभित्रको समानान्तर संगठन निर्माणको प्रक्रियालाई थप स्पष्ट पार्ने देखिन्छ ।

Comment

Related News

Latest News

Trending News