भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि उद्धार तथा राहत टोली तयारी अवस्थामा राखिएको छ । सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई आवश्यक उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको मधेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ । आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकिएको उनले बताए । उनका अनुसार जोखिम र अति जोखिमयुक्त क्षेत्र पहिचान गरेर स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सम्भावित बाढी, डुबान तथा अन्य विपद्का बेला तत्काल उद्धारमा खटिन सक्ने गरी जनशक्ति र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन् । राजमार्गमा निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निगरानी बढाउन निर्देशन दिइएको छ । प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई समेत उद्धार तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ । यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले समेत सुरक्षा निकायलाई उच्च सतर्कतासहित परिचालित हुन निर्देशन दिएको छ ।
बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच प्रभावकारी समन्वय कायम गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई चुस्त बनाउन जोड दिएको छ । यी क्षेत्रहरुमा उच्च सतर्ककता मधेशमा बाढी तथा डुबानको जोखिम सबै जिल्लामा रहे पनि नदी तथा खोलाको बहाव र विगतको क्षतिको आधारमा केही क्षेत्र बढी संवेदनशील मानिन्छन् । रौतहटमा बागमती र लालबकैया नदीको बाढीका कारण सदरमुकाम गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुने गरेका छन् । धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला र विदेह नगरपालिकाका विभिन्न क्षेत्र जोखिममा पर्न सक्छन् । जनकपुरधाम उपमहानगरपालिकामा भने नदीजन्य बाढीभन्दा सहरी क्षेत्रमा प्रभावकारी ढल तथा निकासको अभावका कारण वर्षातमा डुबानको समस्या दोहोरिने गरेको छ ।
सिरहामा कमला, बलान र स्थानीय खहरे खोलाका कारण सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया तथा भगवानपुर क्षेत्र जोखिममा पर्ने गरेका छन् । सप्तरीमा सप्तकोशीसँगै खाँडो, महुली, जिता र बलान खोलाको बहाव बढ् दा हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका बस्तीमा डुबानको जोखिम रहने गरेको छ । सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीको बहाव बढ्दा बरहथवा, बलरा, गोडैता, कौडेना तथा बसबरिया क्षेत्र प्रभावित हुने जोखिम रहन्छ । महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीको कटान तथा बाढीका कारण जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्र संवेदनशील छन् ।
बारा र पर्सामा भने चुरे क्षेत्रबाट बग्ने खोलामा अचानक आउने बाढी र कटान प्रमुख जोखिमका रूपमा देखिन्छन् । बारामा पसाहा, दुधौरा, बालगंगा र तिलावे नदीमा आउने आकस्मिक बाढीले कलैया तथा जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्रसहित परवानीपुर र देवताल गाउँपालिकाका केही क्षेत्र प्रभावित हुन सक्छन् । पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण जगरनाथपुर, धोबिनी, वीरगञ्ज महानगरपालिका र पोखरिया क्षेत्र जोखिममा पर्ने गरेका छन् ।
जोखिममा रहेका यी क्षेत्रहरुमा प्रहरीले प्राथमिकतामा राख्दै उच्च सर्तकता अपनाएको छ । भारी वर्षाको सम्भावनाबीच मधेशमा सुरक्षा संयन्त्रलाई अग्रिम रूपमा परिचालन गर्नुको मुख्य उद्देश्य सम्भावित बाढी तथा डुबानपछि उद्धारका लागि पर्खिनुभन्दा जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र तत्काल प्रतिकार्य क्षमता कायम गर्नु रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सर्दै गएको छ । उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा समेत परेको र कोशी, मधेश तथा बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।



