नेपाली कांग्रेसको संस्थापन पक्ष वडा अधिवेशनमा केन्द्रित भइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा समूहको समानान्तर संगठनात्मक गतिविधि धनुषामा पनि शुरु भएको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै संस्थापन समूह वडा अधिवेशनमा व्यस्त रहेकै क्रममा देउवा समूहले मधेश प्रदेशको धनुषासहित विभिन्न जिल्लामा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ ।
देउवा समूहले धनुषामा महाधिवेशन सम्बन्धी तयारी, समन्वय तथा संगठन परिचालनको जिम्मेवारी नेता कोमलकान्त झालाई दिएको छ । नेपाली कांग्रेस धनुषाका जिल्ला उपसभापति लक्ष्मीनारायण यादवको सभापतित्वमा भएको बैठकमा पूर्वसांसद स्मृतिनारायण चौधरी प्रमुख अतिथि थिए । सो बैठकमा कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि जिल्ला तहसम्म संगठनात्मक तयारी अघि बढाउने, नेता–कार्यकर्ताबीच समन्वय बढाउने तथा अधिवेशनका लागि आवश्यक तयारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।
देउवा समूहले प्रस्ताव गरेको कार्यतालिकालाई आधार मान्दै आगामी असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तथा मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी अघि बढाइएको छ । धनुषामा पनि सोही कार्यतालिकालाई आधार बनाएर संगठनात्मक गतिविधि सञ्चालन गर्ने र जिल्लास्तरीय नेताबीचको छलफल तथा समन्वयलाई निरन्तरता दिने देउवा पक्षका नेताहरूले बताएका छन् । कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढ्दै गर्दा पार्टीभित्र संस्थापन र देउवा समूहबीच संगठनात्मक प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा पनि देखिन थालेको छ ।
संस्थापन पक्ष वडा अधिवेशनको तयारीमा केन्द्रित भइरहेका बेला देउवा समूहले पनि जिल्लादेखि स्थानीय तहसम्म आफ्ना नेता–कार्यकर्तालाई परिचालन गर्दै समानान्तर रूपमा तयारी अघि बढाएको हो । दुवै समूहले संगठनमा आफ्नो प्रभाव र पकड रहेको दाबी गर्दै आएका छन् । विशेषगरी मधेश प्रदेश कांग्रेसको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले महाधिवेशनको तयारीसँगै यहाँ दुवै पक्षको गतिविधि बढेको देखिन्छ । मधेशका जिल्लाहरूमा वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशनमा प्रतिनिधि तथा नेतृत्व चयन हुने भएकाले प्रारम्भिक तहकै संगठन परिचालनलाई दुवै समूहले महत्व दिएका छन् ।
त्यसका लागि स्थानीय नेता, क्षेत्रीय पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र युवा–महिला कार्यकर्तालाई आ–आफ्नो पक्षमा सक्रिय बनाउने प्रयास भइरहेको छ । कांग्रेसको आन्तरिक राजनीतिमा मधेश प्रदेश लामो समयदेखि महत्वपूर्ण प्रभाव क्षेत्रका रूपमा रहँदै आएको छ । आगामी महाधिवेशनको तयारीसँगै मधेशका जिल्लाहरूमा हुने वडा, पालिका, क्षेत्रीय तथा जिल्ला अधिवेशनले प्रदेश र केन्द्रीय तहको नेतृत्व चयनमा प्रभाव पार्ने भएकाले दुवै समूहले प्रारम्भिक संगठन निर्माण र प्रतिनिधि परिचालनलाई प्राथमिकता दिएका छन् । धनुषासहित मधेशका अन्य जिल्लामा पनि समूहगत बैठक, भेटघाट, छलफल र संगठन परिचालनका गतिविधि बढ्दै जान थालेका छन् ।
यद्यपि कुन समूहको संगठनात्मक प्रभाव कति छ भन्ने निष्कर्ष निकाल्न अधिवेशनबाट चयन हुने प्रतिनिधि र त्यसपछि हुने नेतृत्व प्रक्रियाको परिणाम पर्खनुपर्ने हुन्छ । यसैबीच कांग्रेसभित्रको संस्थापन र देउवा समूहबीचको प्रतिस्पर्धा औपचारिक संगठनात्मक प्रक्रियाभन्दा बाहिर गएर विभाजनको अवस्थामा पुगेको भन्ने राजनीतिक दाबीहरू पनि सार्वजनिक हुन थालेका छन् । तर पार्टी औपचारिक रूपमा विभाजित भएको अवस्था भने नरहेको र दुवै पक्षले एउटै पार्टीको महाधिवेशन प्रक्रियाभित्र आ–आफ्नो प्रभाव विस्तार गर्ने तयारी गरिरहेका छन् ।
मधेशमा देखिएको यो सक्रियता त्यसैले केवल धनुषाको जिल्ला तहको गतिविधिमा सीमित नभइ कांग्रेसभित्रको आगामी नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रियासँग जोडिएर शक्ति परिचालनका रूपमा पनि हेरिएको बताइन्छ । यता शनिबार देउवा समूहले जनकपुरधाममा पत्रकार सम्मेलनसमेत आयोजना गरिएको जनाएको छ । यस बैठकमा पूर्वसांसद प्रमिला दास, पूर्वजिल्ला सभापति महेशशंकर गिरी, जिल्ला सचिव कन्हैया कर्ण, वरिष्ठ नेता गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगिता ठाकुर, मुस्लिम संघ धनुषाका अध्यक्ष मो. इब्राहिम, क्षेत्रीय सभापति रामचन्द्र पजियारलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।



