धनुषाको बटेश्वर गाउँपालिका–५ मा पर्ने शान्तिपुरका राजा राजपूत अहिले ‘नेपाल सिंगिङ सुपरस्टार सिजन–२’को शीर्ष ८ मा पुगेका छन् । गायकका रूपमा परिचित राजा गीत लेखन, संगीत सिर्जना र संगीत संयोजनमा समेत सक्रिय छन् । २०५३ भदौ १७ गते जन्मिएका राजाको संगीतसँगको सम्बन्ध विद्यालय जीवनदेखि नै शुरु भएको हो । विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रम तथा मञ्चमा उनी नियमित रूपमा गीत गाउने गर्थे ।
महेन्द्रनगरस्थित ज्ञान मन्दिर इङ्लिस बोर्डिङ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेपछि उनले धनुषा साइन्स क्याम्पसबाट कम्प्युटर साइन्स विषयमा कक्षा १२ उत्तीर्ण गरे । पढाइसँगै उनको सांगीतिक यात्रा पनि अघि बढ्दै गयो । उनले मिथिलाञ्चल एफएम १०५ मेगाहर्जमा रेडियो प्रस्तोताका रूपमा काम गरे। त्यही क्रममा गितार सिक्न थाले भने ‘रंग दर्पण’मा नृत्यको प्रशिक्षण पनि लिए । सडक नाटक तथा विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै उनले गायनसँगै मञ्च प्रस्तुति र अभिनयको अनुभवसमेत हासिल गरे ।
कक्षा १२ पछि संगीतमा थप दक्ष बन्ने उद्देश्यले राजा चण्डीगढ पुगे। त्यहाँ निर्वाण एकेडेमीमा शास्त्रीय गायनको प्रशिक्षण लिए । त्यसपछि उनी दिल्ली पुगे, जहाँ करिब डेढ वर्ष विभिन्न नाट्य समूह तथा प्रस्तुतिसँग जोडिएर काम गरे । नाटकलाई उनले मुख्य पेसाका रूपमा भन्दा आफूलाई गायक तथा कलाकारका रूपमा निखार्ने माध्यमका रूपमा लिए । नाटकमार्फत उच्चारण, भाव अभिव्यक्ति, शारीरिक हाउभाउ र मञ्च प्रस्तुतिमा आफूलाई थप सक्षम बनाउँदै लगे ।
दिल्लीमै उनले गन्धर्व महाविद्यालयमा सुजितकुमार ओझासँग शास्त्रीय गायनको प्रशिक्षण लिए। पछि सुब्रतो दाससँग पनि गायन प्रशिक्षणलाई निरन्तरता दिए । यस क्रममा विभिन्न संगीतकर्मी तथा साथीहरूबाट संगीतका नयाँ विषय सिक्ने अवसरसमेत पाए । राजाको सांगीतिक यात्रामा संगीत संयोजक स्यान्डी सिंहको भूमिका पनि महत्वपूर्ण रह्यो । स्यान्डीसँग काम गर्ने क्रममा उनले गीत लेखन, संगीत संयोजन तथा संगीत उत्पादनको व्यावहारिक ज्ञान हासिल गरे ।
विभिन्न नाट्य संगीत, स्टुडियो रेकर्डिङ तथा प्रत्यक्ष सांगीतिक कार्यक्रममा काम गरे। राष्ट्रिय नाट्य विद्यालयसँग सम्बन्धित केही परियोजनामा सहायक संगीत निर्देशकका रूपमा काम गर्ने अवसरसमेत पाए । उनको स्टुडियो रेकर्डिङ यात्रा ‘ कोरस’ गायनबाट सुरु भएको थियो । विभिन्न गीत, नाट्य प्रस्तुति, प्रमोसनल गीत तथा निर्वाचन अभियानका लागि तयार गरिएका गीतमा स्वर तथा समूह गायन गर्दै उनले स्वर संयोजन र रेकर्डिङ प्रक्रियाको अनुभव हासिल गरे । संगीतकै क्रममा राजा स्यान्डी सिंह, स्वरांश मिश्रालगायतको टोलीसँग लद्दाख पनि पुगे ।
करिब १० दिन त्यहाँ बसेर उनले केही विद्यालयका विद्यार्थीलाई संगीत तथा मञ्च प्रस्तुतिको प्रशिक्षण दिए । पछि ती विद्यार्थीलाई एकै ठाउँमा भेला गराएर नारोपा महोत्सवका लागि सांगीतिक प्रस्तुति तयार गरिएको थियो । विद्यार्थीलाई अभ्यास गराउनुका साथै राजाले स्वयं पनि महोत्सवमा प्रत्यक्ष प्रस्तुति दिएका थिए । दिल्ली बसाइकै क्रममा उनले आफ्ना मौलिक गीत सिर्जना गर्न थाले। ‘दिल केहता है’ उनका सुरुवाती मौलिक गीतमध्ये एक हो, जसमा शब्द, संगीत र स्वर उनले स्वयं दिएका थिए । त्यसपछि ‘तुमको पाया है’ युगल गीत र ‘एक कहानी’ लगायतका गीतमा काम गरे । मैथिली लोकसंस्कृतिसँग जोडिएको ‘झिझिया २.०’लाई रक भर्सनमा प्रस्तुत गर्दै उनले आफ्नो सांगीतिक दायरालाई अझ फराकिलो बनाए ।
संगीतसँगै राजाले औपचारिक शिक्षालाई पनि निरन्तरता दिए । उनले ग्लोकल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरी स्नातक तह पूरा गरे। अध्ययनकै क्रममा यमा स्कुल अफ म्युजिकसँग जोडिएर गायन, गितार र पियानो सिक्नुका साथै विद्यार्थी तथा बालबालिकालाई संगीत सिकाउन थाले । घरमै गायन र गितार सिकाउँदै उनले अध्ययनसँगै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिए । कोभिड–१९ महामारीपछि नेपाल फर्किएका उनी केही समयपछि फेरि विदेश जाने सोचमा थिए। तर अन्ततः आफ्नै देशमा बसेर संगीत क्षेत्रमा केही गर्ने निर्णय गरे ।
उक्त निर्णयमा साथी नेहा कर्णको साथ र प्रोत्साहन पनि महत्वपूर्ण रहेको उनी सम्झिन्छन् । नेपाल फर्किएपछि उनले जनकपुरमा साथीहरूसँग मिलेर संगीत स्टुडियो सञ्चालन गरे । त्यहाँ गायन र गितारको कक्षा सञ्चालन गर्नुका साथै प्रत्यक्ष सांगीतिक कार्यक्रममा सहभागी भए । केही समय विद्यालयमा संगीत शिक्षकका रूपमा समेत काम गरे। विभिन्न व्यावहारिक तथा आर्थिक कारणले स्टुडियोलाई निरन्तरता दिन नसके पनि उनको संगीत यात्रा भने रोकिएन । पछि काठमाण्डु आएर उनले नेपाल युवा परिषद्ले आयोजना गरेको राष्ट्रिय युवा गायन प्रतियोगितामा सहभागिता जनाए ।
विभिन्न चरण पार गर्दै उनी प्रथम उपविजेता बने । यही प्रतियोगितापछि नेपाली मौलिक गीतका लागि सम्झौता प्राप्त गरे र ‘पिरथी को बारह खरी’ गीतमा काम गर्ने अवसर पाए । काठमाण्डुमै उनले क्यालिडोस्कोप म्युजिक एकेडेमीमा ‘वेस्टर्न भोकल’, गितार, पियानो तथा संगीत उत्पादनसम्बन्धी अध्ययन गरे । त्यसपछि ‘वेस्टर्न म्युजिक’मा डिप्लोमा पनि पूरा गरे । राजाको यात्रा धनुषास्थित एउटा विद्यालयको सानो मञ्चबाट शुरु भएर रेडियो, नाटक, नृत्य, शास्त्रीय गायन, स्टुडियो रेकर्डिङ, संगीत सिर्जना, प्रत्यक्ष प्रस्तुति र संगीत शिक्षण हुँदै अहिले राष्ट्रियस्तरको गायन प्रतियोगिताको मञ्चसम्म आइपुगेको छ । उ
नको सांगीतिक यात्रामा परिवारको साथ पनि महत्वपूर्ण रहँदै आएको छ । विशेषगरी उनका मामा राजेश सिंहले सुरुदेखि नै उनलाई निरन्तर साथ, हौसला र मार्गदर्शन दिँदै आएका छन् । उनका बुबा इन्द्रजीत सिंह व्यवसायमा छन् भने आमा गीता कुमारी देवी शिक्षण पेसामा आबद्ध छन् । हाल ‘नेपाल सिङ्गिङ सुपरस्टार सिजन–२’को शीर्ष ८ मा रहेका राजा आफ्ना लागि यो प्रतियोगिता लामो सांगीतिक यात्राको अर्को महत्वपूर्ण चरण भएको बताउँछन् । नेपाली, हिन्दी र मैथिली—तीनै भाषाको संगीतमा आफ्नो छुट्टै पहिचान बनाउने उनको लक्ष्य छ । गायनसँगै आफ्नै शब्द, संगीत र मौलिक सिर्जनालाई अघि बढाउने उनको योजना छ ।



