२०८३ आश्विन ११, आईतवार ०७:२४

मधेश प्रदेशमा सीमा सुरक्षासँगै अवैध चोरी–तस्करी नियन्त्रणलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामग्रीमा किराना तथा दैनिक उपभोग्य वस्तु, कपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स र कस्मेटिकलगायतका सामान रहेको जनाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार अवैध सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधनमाथि समेत कारबाही गरिएको छ । यस क्रममा १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ। तस्करी नियन्त्रणकै क्रममा ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको करिब १ हजार १ सय क्यूफिट काठ तथा १ सय २ ग्राम चाँदी पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। अवैध कारोबारमा संलग्न भएको आशंकामा ८४ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

नेपाल–भारत खुला सीमाका कारण हुने लागूऔषध ओसार पसार नियन्त्रणलाई प्राथमिकतामा राखेका सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा मधेशका विभिन्न सीमा क्षेत्रबाट १९३ ग्राम ब्राउन सुगर, ९ किलो ५ सय ग्राम चरेस र १ हजार ६ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ । यस अवधिमा तीन थान कटुवा पेस्तोल, दुई थान सिक्सर र दुई थान भरुवा बन्दुक तथा तिनमा प्रयोग हुने राउन्ड र बारुद बरामद गरिएको छ । सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार रोक्न पनि निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ मानव बेचबिखनको आशंकामा २ ९ महिला र ३० पुरुष गरी ५९ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार मधेश प्रदेशमा सीमा सुरक्षासँगै चोरी–तस्करी, सीमा अपराध, लागूऔषध कारोबार, मानव बेचबिखनलगायतका गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा थप निगरानी र गस्ती बढाइएको छ। साम्प्रदायिक प्रदर्शन, बलात्कारका घटना, सीमापार अपराध तथा विपद्का घटनामा समेत अन्य सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी परिचालन हुँदै आएको सशस्त्रको भनाइ छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सीमा स्तम्भहरूको डिजिटल अभिलेख अद्यावधिक गर्नुका साथै तिनको भौतिक अवस्थाबारे नियमित अनुगमन भइरहेको छ । नेपाल र भारतका समकक्षी सुरक्षा निकायबीच समन्वय गरी सीमा स्तम्भको मर्मतसम्भार तथा दशगजा क्षेत्रको सुरक्षामा समेत काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच, मधेश प्रदेशका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका २२ वटा ट्र्याक्टर, २६ वटा टिपर र दुई वटा जेसीबी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । यसले सीमा सुरक्षासँगै प्रदेशभित्र हुने अवैध उत्खनन नियन्त्रणमा समेत सशस्त्र प्रहरी परिचालित रहेको देखाएको छ । विभिन्न विपद्का घटनामा १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गरिएको सशस्त्रको तथ्यांक छ । त्यस्तै विभिन्न दुर्घटना तथा घटनामा घाइते भएका २११ पुरुष र ६३ महिला गरी २७४ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएको जनाइएको छ । अवैध गतिविधि नियन्त्रणका लागि प्राप्त सूचनालाई आधार बनाएर मधेशस्थित सशस्त्र प्रहरी बलका इकाइहरूले विशेष टोलीसमेत परिचालन गरिरहेका छन् ।

बाहिनी तहमा वरिष्ठ अधिकृतको नेतृत्वमा स्ट्राइकिङ टोली परिचालन गर्नुका साथै सीमा क्षेत्रमा रहेका गणहरूमा सीमाको नियमित अनुगमनका लागि छुट्टै अधिकृत खटाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News