२०८३ आश्विन ११, आईतवार ०७:३१

तत्कालिन जनमत पार्टीका नेता अब्दुल खानसहित केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारी गरिरहेका छन् । खानको नेतृत्वमा केही युवाले शुक्रबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर पार्टीमा आबद्ध हुने विषयमा छलफल गरेका छन् ।

भेटमा जनमत पार्टीका नेता एवं उद्योगमन्त्री ई. दीपक साह पनि सहभागी थिए । उक्त भेटघाटको समन्वय मन्त्री साहले गरेको बुझिएको छ । हाल नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष रहेका खानले भने आफू रास्वपामा प्रवेश गरिसकेको भन्ने कुरा अस्वीकार गरेका छन् । उनका अनुसार लामिछानेसँग चुनावी सहकार्यका विषयमा मात्रै छलफल भएको हो । ‘पार्टी प्रवेशको कुरा होइन, चुनावमा सहकार्यका लागि कुराकानी भएको हो, अरू केही होइन,’ खानले भने ।

खान जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लामो समय काम गरेका नेता हुन् । स्वतन्त्र मधेस गठबन्धनदेखि जनमत पार्टी गठनसम्म उनी राउतसँगै थिए । उनी जनमत पार्टीबाट संघीय सरकारमा यसअघि खानेपानी मन्त्री समेत बनेका थिए । जेनजी आन्दोलनपछि जनमत पार्टी छाडेका खान रेशम चौधरीसँग मिलेर नागरिक उन्मुक्ति पार्टी नेपाल गठनमा सहभागी भएका थिए । उनी उक्त पार्टीको उपाध्यक्ष बनेका थिए । खान प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समेत उम्मेदवार बनेका थिए । निर्वाचनमा पराजित भएपछि उनी नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिएनन् । शुक्रबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सचिवालय बैठक चलिरहेका बेला खानले रास्वपा सभापति लामिछानेसँग भेट गरेका हुन् ।

यता, यसअघि जनमत पार्टी छाडेर रास्वपामा प्रवेश गरेका सुरेन्द्रनारायण यादवले भने अब्दुल खानसहित केही नेता रास्वपामा आइसकेको दाबी गरेका छन् । ‘अब्दुलजीहरू रास्वपामा आइसक्नुभएको छ । अब पार्टीमा कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ यादवले भने । उनका अनुसार शुक्रबार लामिछानेलाई भेट्न पुगेका अधिकांश नेता यसअघि नै जनमत पार्टी छाडिसकेका व्यक्ति हुन् । उनीहरूलाई रास्वपामा समायोजन गर्ने विषयमा छलफल भइरहेको यादवले बताए ।

यादवले यसअघि नै अब्दुल खानसहित अन्य नेताहरूको नाम रास्वपामा बुझाइएको भए पनि विभिन्न कारणले त्यतिबेला समावेश हुन नसकेको बताए । अहिले उनीहरूलाई पार्टीमा समेट्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । ‘कुन नेतालाई कहाँ जिम्मेवारी दिने, कहाँ–कहाँ राख्ने भन्ने विषयमा छलफल चलिरहेको छ । एक ठाउँमा जुटेर देश, जनता र सङ्गठनको हितका विषयमा छलफल भएको हो,’ यादवले भने । खान भने आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ । स्रोतका अनुसार आफ्नो उम्मेदवारी सुनिश्चित हुने अवस्था बनेमा उनी रास्वपासँग आबद्ध हुने मनस्थितिमा छन् ।

Comment

Related News

Latest News

Trending News