दिवंगत पितृप्रति श्रद्धा, स्मरण र सम्मान प्रकट गर्ने सोह्र श्राद्धअन्तर्गतको तर्पण कर्म तराई–मधेशमा सुरु भएको छ । सोह्र श्राद्धको औपचारिक क्रम सुरु हुनुअघि शनिबार ऋषि तर्पणी सम्पन्न भएपछि जनकपुरधामसहित मधेशका विभिन्न क्षेत्रमा पितृ तर्पण गर्ने क्रम सुरु भएको हो । सोह्र श्राद्धमा दिवंगत आफन्तको स्मरण गर्दै तर्पण, पिण्डदान र सिदादान गर्ने धार्मिक परम्परा छ। जनकपुरधामका गंगासागर, धनुषसागरलगायतका धार्मिक तथा जलाशय क्षेत्रमा शनिबार बिहानैदेखि तर्पणका लागि श्रद्धालुको उल्लेख्य भीड देखिएको थियो ।
जनकपुरधाममा स्थानीयसँगै भारतको सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालुहरू पितृलाई जल अर्पण गर्न पुगेका थिए । परम्पराअनुसार पितृ तर्पण गर्नुअघि ऋषिहरूप्रति सम्मान प्रकट गर्दै ऋषि तर्पणी गरिन्छ । ऋषि तर्पणीका क्रममा कांक्रो र खरकये फूल अर्थात् फूल्की प्रयोग गरी जल अर्पण गर्ने चलन रहेको पण्डित उमाशंकर झाले बताए। त्यसपछि पितृ पक्षका दिनहरूमा कुश, जौ र तिलसहित मन्त्रोच्चारण गरेर दिवंगत पूर्वजलाई तर्पण दिने धार्मिक परम्परा रहेको उनले जानकारी दिए । यस वर्ष ऋषि तर्पणी एक दिन अगाडि परेको विषयमा केही अन्योल देखिए पनि यो तिथि परिवर्तनका कारण भएको पण्डित झाले स्पष्ट पारे। उनका अनुसार सोह्र श्राद्धमा ऋषि तर्पण एक दिन र पितृ पक्षको तर्पण १५ दिन गरी जम्मा १६ दिनको धार्मिक क्रम हुन्छ। विगतमा ऋषि तर्पण र पितृ तर्पण एउटै दिन पर्ने अवस्था भए पनि यस वर्ष तिथिको गणनाअनुसार दुवै फरक दिनमा परेको हो ।
प्रतिपदादेखि अमावस्यासम्मको पितृ पक्ष १५ दिन हुने भएकाले त्यसअघि ऋषि तर्पण गर्ने परम्परा रहेको उनले बताए । सोह्र श्राद्धका क्रममा दिवंगत व्यक्तिको मृत्यु भएको तिथिअनुसार पिण्डदान गर्ने प्रचलन छ। सबै १६ दिन तर्पण गर्न नसक्नेले पिण्डदान गर्ने दिनसम्मको धार्मिक विधि पूरा गरेर कुश परित्याग गर्न सक्ने मान्यता पनि रहेको पण्डित झाको भनाइ छ । धार्मिक विश्वासअनुसार पितृ पक्षका बेला दिवंगत पूर्वजको आत्मा आफ्ना सन्तानको वरिपरि आउने र उनीहरूबाट पिण्ड तथा जलको अपेक्षा गर्ने विश्वास गरिन्छ । सन्तानले श्रद्धापूर्वक श्राद्ध तथा तर्पण गरेमा दिवंगत पितृको आत्माले शान्ति र मोक्ष प्राप्त गर्ने धार्मिक मान्यता छ। त्यसैले सोह्र श्राद्धलाई आफ्ना पूर्वजप्रति कृतज्ञता व्यक्त गर्ने, उनीहरूको स्मरण गर्ने र पारिवारिक संस्कारलाई निरन्तरता दिने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । यस वर्षको श्राद्ध तिथिअनुसार असोज ११ गते प्रतिपदा, १२ गते द्वितीया, १३ गते तृतीया र १४ गते चतुर्थी श्राद्ध परेको छ । असोज १५ गते पञ्चमी र षष्ठी, १६ गते सप्तमी, १७ गते अष्टमी तथा १८ गते नवमी श्राद्ध हुनेछ। त्यसैगरी असोज १९ गते दशमी, २० गते एकादशी, २१ गते द्वादशी र त्रयोदशी, २२ गते चतुर्दशी तथा २३ गते महालय अर्थात् अमावस्या श्राद्ध हुनेछ। असोज २४ गते औँसी श्राद्धसँगै यस वर्षको सोह्र श्राद्धको क्रम पूरा हुनेछ ।
यस वर्ष पञ्चमी र षष्ठी तथा द्वादशी र त्रयोदशी एउटै दिन परेको छ। त्यसैले सम्बन्धित परिवारले आफ्नो पितृको मृत्यु तिथि, स्थानीय पञ्चाङ्ग र पुस्तौंदेखि चलिआएको पारिवारिक परम्परालाई आधार मानेर श्राद्धको दिन निर्धारण गर्नुपर्ने धार्मिक जानकारहरू बताउँछन् । पितृको तिथि थाहा नभएको वा विशेष परिस्थिति परेको अवस्थामा परिवारमा प्रचलित धार्मिक विधिअनुसार अन्तिम दिन श्राद्ध गर्ने मान्यता पनि रहेको छ । सोह्र श्राद्ध किन मनाइने बारे पण्डित झा भन्छन — सोह्र श्राद्धलाई पितृप्रति कृतज्ञता, स्मरण र श्रद्धा व्यक्त गर्ने कर्मको रूपमा लिइन्छ । यस अवधिमा तर्पण, पिण्डदान र सिदादानलगायतका कर्म गरिन्छन् । धार्मिक मान्यता अनुसार यस्ता कर्मबाट पितृप्रति सम्मान र तिनीहरुको आत्मको शान्ति तथा मोक्ष प्राप्त हुन्छ ।



