मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो एक सातादेखि भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थान प्रभावित भएका छन् ।
पर्साको ठोरी गाउँपालिका–५ आठघरे टोलमा हावाहुरीले कान्छी स्याङवोको टिनको छानो भएको घरको जस्तापाता उडाउँदा पूर्ण क्षति पुगेको छ । बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा अमिन मियाँको घरको गारो तथा छाना आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।
रौतहटको राजपुर नगरपालिका–९ वैरिया, कटहरिया नगरपालिका–१ भसेढवा, मौलापुर नगरपालिका–४ पतौरा र गरुडा नगरपालिका–८ गम्हरियामा घर तथा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । सर्लाहीका विष्णु, मलंगवा, कौडेना र चन्द्रनगरलगायतका क्षेत्रमा पनि कच्ची घर, गोठ तथा अन्य संरचनामा आंशिक तथा पूर्ण क्षति भएको छ ।
महोत्तरीको मनरा शिसवा नगरपालिका–१ चौरिया टोलमा चन्द्रकाला मण्डलको बाँस र फुसले बनेको घर भासिएपछि बस्न नसक्ने अवस्थामा पुगेको छ ।
धनुषाको मिथिला नगरपालिका–११ आपगाछीमा पहिरो खस्दा राजन श्रेष्ठको घर पुरिएको छ । घटनामा चार जनाको सकुशल उद्धार गरिए पनि पहिरोमा पुरिएकी करिब ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ । उनको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल बर्दिबास पठाइएको प्रहरीले जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ तथा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न क्षेत्रमा पानी प्रवेश गरेको छ । कोशी बाँध आसपासका करिब दुई सय घरधुरीका घरआँगनमा पानी पसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार, क्षतिको विवरण संकलन तथा आवश्यक समन्वयको काम भइरहेको छ । वर्षा तथा हावाहुरीबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले माइकिङ, गस्ती तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।



