२०८३ आश्विन १२, सोमबार ०७:२४

पछिल्लो केही दिनदेखि मधेशसहित देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा, बाढी, डुबान, पहिरो तथा हावाहुरीका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार असोज ८ गतेदेखि असोज ११ गतेसम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका कारण देशभर कम्तीमा १३ जनाको मृत्यु भएको छ भने सात जना अझै सम्पर्कविहीन छन् । पछिल्लो २४ घण्टामै छ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । मधेश प्रदेशमा भने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीले घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पु¥याएको छ ।

विभिन्न जिल्लामा ३०० भन्दा बढी घर डुबानमा परेको प्रारम्भिक विवरण छ । धनुषाको मिथिला नगरपालिका–११ मा पर्ने आँपगाछीमा पहिरोले राजन श्रेष्ठको घर पुरिँदा करिब ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ । घटनामा चार जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल बर्दिबास पठाइएको छ । सप्तरीमा डुबानको समस्या अझ गम्भीर देखिएको छ । तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका तथा आसपासका क्षेत्रमा करिब २५० घर डुबानमा परेका छन् । कोशी बाँधको दक्षिणतर्फ हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडामा मात्रै करिब २०० घरमा बाढीको पानी पसेको प्रहरीले जनाएको छ ।

पर्साको ठोरीमा हावाहुरीले टिनको छानो उडाउँदा घरमा ठूलो क्षति पुगेको छ भने बाराको कलैयामा घरको गारो तथा छाना आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै रौतहटका राजपुर, कटहरिया, मौलापुर र गरुडा क्षेत्रमा घर तथा गोठमा क्षति पुगेको छ । सर्लाहीमा कच्ची घर, गोठ तथा अन्य संरचनामा आंशिक तथा पूर्ण क्षति भएको छ । महोत्तरीको मनरा शिसवा–१ मा बाँस र फुसले बनेको घर भासिएपछि परिवार बस्न नसक्ने अवस्थामा पुगेको छ ।

त्यस्तै धनुषाको कमला नदी क्षेत्रमा स्थानीयवासीलाई प्रहरीले माइकिंग गरी खोला किनारमा घर बनाएर बसोबास गरिरहेका स्थानीयवासीलाई अन्यत्र बसोबास गर्नका लागि आग्रह गरेका छन् । त्यसैगरि गण्डकी प्रदेशमा पछिल्ला तीन दिनको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट ११ जनाको मृत्यु, चार जना घाइते र चार जना बेपत्ता भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । ४१९ घरधुरीका १ हजार ४५१ जना विस्थापित भएका छन् भने १७९ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने २६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै पर्वतको जलजला गाउँपालिका–८ मा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगेका छन् ।

त्यस्तै देशका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय तहले उद्धार, राहत वितरण र क्षतिको विवरण संकलन गरिरहेका छन् । नवलपरासी क्षेत्रमा मात्रै १ हजार १०० भन्दा बढी मानिसलाई जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । जोखिमयुक्त क्षेत्रमा माइकिङ, गस्ती तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।भ् मौसम पूर्वानुमानअनुसार केही क्षेत्रमा अझै वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव बढ्ने तथा बाढी, डुबान र पहिरोको जोखिम कायम रहेको अधिकारीहरूले बताएका छन् । क्षतिको पूर्ण विवरण भने उद्धार तथा स्थलगत मूल्यांकनपछि मात्र यकिन हुने बताइएको छ ।

Comment

Related News