२०८३ आश्विन १२, सोमबार ०७:५२

जनकपुरधाम—जलेश्वर सडक खण्ड महोत्तरीको पिपरा–पर्सास्थित कुट्मेश्वरी पुलमा पानीको बहाव अत्यधिक बढेपछि सो सडकखण्डमा जोखिम बढेको छ ।

पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै हुलाकी सडक आयोजनाको टोलीले पुल तथा सडकखण्डको स्थलगत निगरानी गरिरहेको छ । टोलीले आवश्यकता अनुसार तत्काल काम गर्ने र सडकको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कुट्मेश्वरी पुल आसपासको पानीको बहाव बढेकाले सडक प्रयोगकर्तालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले सडक अवरुद्ध हुने वा आवागमनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार पानीको बहाव र सडकको अवस्था निरन्तर निगरानीमा राखिएको छ । अवस्था प्रतिकूल भएमा आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय तत्काल अपनाइने उनले बताए । प्रशासनले जलेश्वर–जनकपुर सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई पुल र नदी आसपासको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमपूर्ण अवस्थामा जबर्जस्ती सडक पार नगर्न आग्रह गरेको छ । यस्तै जिल्लाको बर्दिबास नगरपालिका– ९ पतलैयामा रातु खोलाको बाढी बस्ती नजिकसम्म पुगेपछि स्थानीयस्तरमा सतर्कता बढाइएको छ ।

खोलामा आएको बाढीका कारण जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय टोलीहरूलाई स्थलगत रूपमा परिचालन गरिएको छ । टोलीहरूले बाढीको अवस्था र सम्भावित जोखिम क्षेत्रको अनुगमन गरिरहेका छन् । बाढी बस्ती नजिकसम्म आइपुगेकाले स्थानीयवासीलाई नदी तथा खोलाको किनारतर्फ नजान र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । यस्तै जिल्लाको महोत्तरी गाउँपालिकामा समेत रातो नदीमा आएको कारण सो पालिकाको बन्चौरीदेखि डाम्हीकट्टी टोल आउने छडकीमा केही भागमा कटान गरेकाले डाम्हीको सुखी चौरी र पुर्नी पोखरी चौरीको धानबाली नष्ट भएको छ भने टोलमा रहेका फुसको घरमा क्षति पुगेको बताइएको छ ।

Comment

Related News

Latest News

Trending News