मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट फेरि पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक एवं चरित्रहत्या गर्ने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो (भोटाहिटी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईँले जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रसिक खतिवडाकी आमा समेत रहेकी सांसद रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ जस्तो गम्भीर र व्यक्तिगत लाञ्छना लगाएका थिए।
प्रसाईँको उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले प्रतिनिधिसभाको बैठकमै भक्कानिँदै तीव्र आपत्ति जनाएकी थिइन्। त्यसपछि खतिवडाको परिवारले प्रसाईँविरुद्ध साइबर कसुरमा ब्युरोमा औपचारिक उजुरी दर्ता गराएको थियो।
प्रहरी ब्युरोले भने पक्राउबारे विस्तृत विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन।



