प्रत्येक वर्ष झै यसवर्ष पनि वडादशैंको अवसरमा जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा गोपाल धर्मशालामा सहज र सहुलियत दरको सस्ता बजार संचालन गर्ने भएको छ ।
संघको बैठकले बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जनकपुरधामको गोपाल धर्मशालामा हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको कुरा सोमवार एक कार्यक्रम आयोजना गरी जनाकारी गराइएको हो ।
यसवर्ष असोज २४ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ । अन्य वर्ष ८ दिनको हुने यसवर्ष ११ दिनसम्म घटस्थापनादेखि दशमीसम्म सञ्चालन हुने जनाइएको छ । चाडपर्वका बेला बजारमा उपभोक्ताको चाप बढ्ने र दैनिक उपभोग्य वस्तुको मागसमेत बढ्ने भएकाले सहज आपूर्तिका लागि सस्ता बजार प्रत्येक वर्ष झै यसवर्ष पनि सञ्चालन गर्न लागिएको संघले जनाएको छ । सस्ता बजार सफलतापूर्वक सञ्चालका लागि संघले विभिन्न उपसमितिहरु समेत गरेको छ ।
सञ्चालन तथा व्यवस्थापनका लागि संरक्षक तथा सल्लाहकार समिति र आपूर्ति तथा अनुगमन, प्रचार प्रसार, स्टल व्यवस्था, गुणस्तर तथा मूल्य निर्धारण लगायतका उपसमिति समेत गठन गरिएको छ । आपूर्ति तथा अनुगमन उपसमितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरिएको छ । समितिमा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरू, स्थानीय प्रशासन र सम्बन्धित सरकारी तथा व्यावसायिक निकायका प्रतिनिधिहरू सहभागी रहने निर्णयमा उल्लेख छ ।



