२०८३ आश्विन १३, मंगलवार १६:४७

महिला सशक्तीकरणलाई राजनीतिक सहभागितामा मात्र सीमित नगरी सामाजिक तथा आर्थिक क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।

जनकपुरधाममा सोमबारदेखि महिला उद्यमीका लागि सार्वजनिक खरिदसम्बन्धी दुईदिने तालिम सुरु भएको छ। तालिमको उद्घाटन गर्दै मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले महिला उद्यमीले व्यवसाय सञ्चालन गरे पनि बजारको अभावमा व्यवसाय छाड्नुपर्ने अवस्था रहेको बताइन्।

महिला उद्यमीलाई बजारसँग जोड्ने उद्देश्यले ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रममार्फत भइरहेको प्रयास सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री थापाले महिला उद्यमीलाई उत्पादन र व्यवसायमा मात्र केन्द्रित नगरी सार्वजनिक खरिद प्रणालीमा समेत पहुँच बढाउन आवश्यक रहेको बताइन्।

उनले महिलाको आर्थिक सशक्तीकरणका लागि तीनै तहका सरकारको भूमिका महत्वपूर्ण रहेको भन्दै स्थानीय तहले महिला उद्यमीका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले महिला उद्यमीका समस्या र आवश्यकतालाई स्थानीय तहका योजना तथा कार्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।

तालिममा मधेश प्रदेशका १२ स्थानीय तहबाट दुई–दुई जना महिला उद्यमी तथा सम्बन्धित पालिकाका उद्यम विकास शाखाका प्रतिनिधिको सहभागिता रहेको छ। तालिममा सार्वजनिक खरिद प्रक्रिया, सरकारी निकायसँग व्यावसायिक सम्बन्ध विस्तार तथा सार्वजनिक खरिदमा महिला उद्यमीको पहुँच बढाउने विषयमा जानकारी दिइने आयोजकले जनाएको छ।

युरोपेली संघको सहयोगमा संयुक्त राष्ट्रसंघीय निकायहरूले मधेश प्रदेशका १२ स्थानीय तहमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। कार्यक्रमले महिला उद्यमीको क्षमता विकाससँगै उनीहरूलाई बजार तथा आर्थिक अवसरसँग जोड्ने काम गरिरहेको जनाइएको छ।

Comment

Related News

Latest News

Trending News