२०८३ आश्विन १४, बुधबार ०८:०७

सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा सडकको विभिन्न चोकलाई चार किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिर नै अल्मलमा परेको छ । जनकपुरधाममा आयोजना हुने र जानकी मन्दिरले आयोजना गर्ने सबैभन्दा ठूलो महोत्सव रामजानकी विवाह महोत्स (वविवाह पञ्चमी) आउन लागेको छ ।

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु भइसक्नु पर्ने थियो । तर गुठी संस्थान, पुरातत्व बिभाग र नेपाली सेनाको प्रकौली गणले मन्दिरमा भौतिक संरचनामा कुनै कार्य गर्न रोक लगाएको छ । गुठी संस्थानले मन्दिरको भौतिक कार्य गर्ने जनाउँदै महन्त रामतपेश्वर दास वैष्णवलाई समन्वय नगरी कुनै कार्य नगर्न निर्देशन दिएको छ ।

पुरातत्व विभागले पनि महन्त दासलाई भौतिक संरचना सम्बन्धी कुनै कार्य नगर्न जनाउ दिएको छ । नेपाली सेनाको महोत्तरी जिल्लाको प्रकौलीस्थित गणबाट पनि मन्दिरको रंगरोगनलगायतका कार्यहरु गर्ने जनाउँदै महन्तलाई त्यस सम्बन्धी कार्य नगर्न जानकारी गराएको छ । विवाह महामहोत्सवमा मन्दिरको रंगरोगन लगायतका सौन्दर्यीकरणको कार्य महन्त दासले नै गराउँदै आएका छन् । सरकारी निकायहरुबाट रोक लगाइएकोले मन्दिरको भौतिक संरचना, रंगरोगन लगायतका सौन्दर्यीकरणको क ा र्य नगर्ने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताएका छन् ।

‘मन्दिरमा रंगरोगन गर्न धेरै समय लाग्ने गरेको छ’ उनले भने, मन्दिरमा बनाइएका बुट्टाहरुमा फरक फरक किसिमको रंग लागेकोले त्यस अनुसारको काममा समय लाग्छ । ‘सरकारी निकायहरुले काम गर्न नभनेकोले मपनि चुप लगाएको छु ’ उनले भने, बिबाहपञ्चमीको तयारीमा पनि म लागेको छैन । विगत वर्षहरुमा महन्तले विवाहमहोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक बोलाउने र कार्य विभाजन गरी मेलाको व्यवस्थापन गर्थे । ‘यस पटक हामीलाई केही नगर्न निर्देशन दिएकोले चुप लगाएर बसेको छु’ महन्त दासले भने, अहिले हामी भगवानको दैनिक पूजाआजा बाहेकको कार्यहरु गरिरहेका छैनाँै । जानकी मन्दिरको भित्री परिसरमा लगाइएको टायल्सहरु उप्केर कुरुप बन्न थालेको छ ।

बाहिरी परिसरमा पनि टायल्सको अवस्था राम्रो छैन । मधेश प्रदेश सरकारले मन्दिरलाई सुन्दर बनाउन टायल्स लगाएको थियो । तर कमसल टायल्स रहेको कारण प्रारम्भदेखि नै उप्किने र फुट्ने समस्या भएको हो । जानकी मन्दिरको मूल संरचना लगायत बाहिरी संरचनामा समेत बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विद्युतीकरणको कामगर्दा मन्दिरभर नै प्वाल परेको छ । वर्षाको पानी पर्दा मन्दिर निर्माण गरिएको सुर्खी बग्न थालेको छ ।

पुरातत्व विभागले विगतमा जानकी मन्दिरको दक्षिण तर्फको छानामा हिल्टी चलाएर फुटाएको थियो । छाना चुहेको भन्दै ठूला किसिमको हिल्टी चलाएर मर्मत पुरातत्व विभागले गर्दा त्यसको आलोचना भएको थियो । नेपाल सरकारले संरक्षित क्षेत्र घोषणा गरेको सीमाभित्र के गर्ने ? र के नगर्ने ? नागरिक बडापत्र जारी गरेको छैन । संरक्षित क्षेत्र भित्र कस्ता कारोबार हुने र नहुने ? अहिले सरकारले तोकेको छैन । जानकी मन्दिरको सञ्चालन विधि परम्परागत गुरु शिष्यको चलन अनुसार हुने अथवा सरकारले ट्रष्ट स्थापना गरी सञ्चालन गर्ने त्यो पनि टुंगो लागेको छैन । जानकी मन्दिर जनकपुरधामको मात्र नभइ संसारकै सनातन धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो ।

सनातन धर्मावलम्बीहरुको आस्थासित जोडिएको धरोहर जानकी मन्दिर हो । सरकारले जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्वलाई अक्ष्ॉण राख्न महत्वपूर्ण निर्णय गरेको छ । तर निर्णय गरेर मात्र पुग्दैन । विगतमा पनि परिक्रमा क्षेत्रलाई मद्यमाँस निषेधित क्षेत्र घोषणा गरेको थियो । जानकी मन्दिरमा महन्तले परम्परागत रुपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरुले आफ्नो स्तरबाट परम्परागत कार्यहरुलाई निरन्तरता दिन आवश्यक छ ।

‘जानकी मन्दिरको गर्भगृहमा रहेका भगवानहरुको चाँदीको आभूषणहरु मर्मत र थप गर्नुपर्ने छ’ महन्त दासले भने, विवाहमहोत्सवमा आसनको पनि सौन्दर्यीकरण गरिन्छ । तर सम्बन्धित निकायहरुले फोन र भेटेर कार्य नगर्न भन्नु बाहेकको थप जानकारी दिएको छैन । जानकी मन्दिर स्वयं छुट गुठी रहेको थियो । हाल गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रुपमा आफ्नो मातहत लिएको छ ।

Comment

Related News

Latest News

Trending News