सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ९ करोड बराबरको क्षति भएको जानकारी दिनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण मोबाइल बिटिएस, वायरलाइन, एफटिटिएच र ब्याकबोन ट्रान्समिसनमा करिब रु. ८ करोड ८५ लाख १२ हजार बराबरको क्षति भएको बताउनुभएको हो । उहाले रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइट अवरुद्ध भएकामा पूर्ण क्षतिग्रस्त ३ वटा (त्रिशुली थ्री–बी, चिलिमे खोला र टिमुरे) बाहेक अन्य सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । वैकल्पिक टावर र हेलिकप्टरमार्फत उपकरण तथा सोलार पु¥याएर टिमुरे–रसुवागढीसम्म मोबाइल कभरेज सुचारु गरिएको उहाले बताउनुभयो ।
त्यस्तै मन्त्री तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै विज्ञापन बजारलाई व्यवस्थित बनाउन नयाँ ‘विज्ञापन नीति २०८३’ ल्याइएको उल्लेख गर्नुभयो । लोककल्याणकारी विज्ञापन पत्रकारको तलब नभई राज्यको सहयोग भएकाले वर्गीकरण, कभरेज र अवधिका आधारमा समानुपातिक एवं न्यायोचित वितरण हुनुपर्ने व्यवस्था गर्न लागिएको उहाले जानकारी दिनुभयो ।
मन्त्री तिमिल्सिनाल सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको जानकारी दिनुभयो । साइबर ठगी नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य भइरहेको भन्दै उहाले हालसम्म तीन लाख पाँच हजारभन्दा बढी युनिक बेटिङ साइट तथा नयाँ बेटिङ एप पहिचान गरी बन्द गर्ने काम भएको उल्लेख गर्नुभयो ।



