सिरहाको गोलबजारमा साउन १४ गते भएको दुई समुदायबीचको हिंसाको आगो निभिसकेको छ । स्थानीय बजारमा चहलपहल पनि बिस्तारै फर्किएको छ । तर त्यस दिनको आगजनी र तोडफोडले छाडेको आर्थिक तथा मानवीय घाउ भने अझै पनि उस्तै छ । कालो बनेको एबी मल, आगजनीबाट क्षतिग्रस्त नेहाल आइरन स्टोर र खरानीमा परिणत भएका कपडा पसलहरू आज पनि हिंसाका साक्षी बनेर उभिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले पीडितबाट प्राप्त निवेदन तथा स्थलगत मुचुल्काका आधारमा सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार घटनाबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले जनाए अनुसार १५ निजी घर, १८ पसल तथा व्यावसायिक संरचना, २८ सवार ीसाधन तथा धार्मिक र शैक्षिक स्थल गरी ६४ संरचना तथा सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । तर सो क्षति केवल प्रहरीको तथ्यांकमा सीमित छैन । व्यवसायीको वर्षौंको लगानी, कामदारको रोजगारी, रोकिएको कारोबार र समुदायबीचको विश्वासमा परेको असरको हिसाब अझै बाँकी छ । भदौ ६ गते गोलबजार पुग्दा प्रभावित व्यवसायीहरू व्यवसाय पुनःसञ्चालनभन्दा पहिले क्षतिको भारी बोकेर राज्यबाट राहत, सुरक्षा र न्यायको प्रतीक्षामा देखिन्थे ।
घटनामा ठूलो क्षति पुगेको संरचनामध्ये एबी मल पनि एक हो । साउन १४ गते तनाव बढेपछि प्रदर्शनकारीले सिरहा सुपरमार्केटद्वारा सञ्चालित मलमा आगजनी गरेको सार्वजनिक विवरणमा उल्लेख छ । मलका सञ्चालक जफीर अन्सारीले आफ्नो करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । भवन अहिले छ । तर उनको भनाइमा क्षति भवनमा मात्र सीमित छैन । पसलमा रहेका सम्पूर्ण सामान, संरचना, व्यवसायमा गरिएको लगानी र भविष्यको आम्दानीसमेत प्रभावित भएको छ । एबी मलसँगै नेहाल आइरन स्टोर रहेको भवनमा पनि ठूलो क्षति पुगेको छ । भवनधनी मोहम्मद इजरुल खानका अनुसार भवन निर्माणमा करिब ५ करोड रुपैयाँ लगानी गरिएको थियो । निर्माण सम्पन्न भएको पाँच वर्ष नपुग्दै भवन आगजनीमा परेको उनको भनाइ छ ।
त्यही भवनमा नेहाल आइरन स्टोर सञ्चालन गर्दै आएका साबिर खानले आफ्नो व्यवसायमा मात्रै करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । इजरुलले आफ्नो धार्मिक पहिचानका कारण सम्पत्ति निशाना बनाइएको आरोपसमेत लगाएका छन्। यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन । कसले, कुन उद्देश्यले र कसको निर्देशनमा सम्पत्ति छानेर आगजनी ग¥यो भन्ने विषय अनुसन्धानबाट स्थापित हुन बाँकी छ । गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वास्थित न्यू असलम वस्त्रालय तथा आलिया इन्टरप्राइजेजमा पनि आगजनीको असर स्पष्ट देखिन्छ । सञ्चालक असलम खानका कपडा तथा अन्य सामान जलेका छन् ।
घटनाको करिब २० दिनपछि पनि व्यवसाय पूर्ववत् सञ्चालनमा आउन सकेको थिएन । प्रभावित व्यवसायीका अनुसार उनीहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका कम्तीमा सय जनाको रोजगारी प्रभावित भएको छ । पसल बन्द हुँदा कर्मचारीको आम्दानी रोकिन्छ । आपूर्तिकर्ताको कारोबार घट्छ र त्यसको असर व्यवसायमा निर्भर परिवारसम्म पुग्छ । गोलबजारको तनाव सुनसरीमा शुरु भएको साम्प्रदायिक तनावसँग सम्बन्धित विरोध प्रदर्शन विस्तार हुँदै जाँदा चर्किएको थियो । साउन १४ गते प्रदर्शन र झडप भएपछि प्रशासनले दिउँसो २ बजेदेखि कफ्र्यु लगाएको थियो । राष्ट्रिय मानवअधिकार आयोगदेखि स्थानीय मानवअधिकारकर्मीको संयुक्त अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले कफ्र्यु जारी गरिएको जानकारी दिएका थिए ।
सो घटनाका क्रममा १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भयो भने १९ वर्षीय सुभाष ठाकुर घाइते भए । शुरुमा गोली कसले चलाएको भन्ने स्पष्ट थिएन । पछि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले गणेशको मृत्यु नेपाल प्रहरीका एक अधिकृतले चलाएको गोलीबाट भएको निष्कर्ष निकालेको सार्वजनिक भएको छ । समितिले सम्बन्धित सुरक्षाकर्मीमाथि कारबाही तथा भीड नियन्त्रण प्रणालीमा सुधारको सिफारिस गरेको थियो । गणेशको मृत्युपछि अवस्था थप तनावपूर्ण बनेको थियो र त्यसपछि निजी तथा व्यावसायिक संरचनामा आगजनी तथा तोडफोड भएको थियो । सो घटनापछि गृहमन्त्री सुधन गुरुङ सिरहा पुगेका थिए ।
गणेश यादवको परिवारसँग सरकारका तर्फबाट निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीलगायत विषयमा लिखित सहमति भएको थियो । तर आगजनीपीडित व्यवसायीका प्रश्न अझै बाँकी छन् । व्यवसाय पुनःस्थापना कसरी गर्ने ? क्षतिपूर्ति कसले दिने ? भविष्यमा आफ्नो सम्पत्ति र व्यवसायको सुरक्षा कसरी सुनिश्चित गर्ने ? प्रहरीको प्रारम्भिक विवरणमा क्षति ७४ करोड रुपैयाँभन्दा बढी देखिए पनि रोजगारी गुमेको मूल्य, रोकिएको कारोबार, ऋणको दायित्व र समुदायबीच कमजोर भएको विश्वासको आर्थिक मूल्य त्यसमा समेटिएको छैन । गोलबजारको घटनाले राज्यसामु एउटा गम्भीर प्रश्न छाडेको छ । आमनागरिकको सम्पत्ति हिंसामा खरानी हुँदा राज्यको भूमिका क्षतिको मुचुल्का तयार गर्नेमै सीमित हुने कि पीडितको पुनस्र्थापना, क्षतिपूर्ति, दोषीको पहिचान र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुरक्षा सुनिश्चिततासम्म पुग्ने ?



