२०८३ आश्विन १५, बिहीबार ०७:३६

नेपालको ऐतिहासिक तथा धार्मिक महत्व मध्येका जनकपुरधामस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन सरोकारवालाले पहल शुरु गरेका छन् । रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र सरकारले घोषणा गरेपछि यस जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल थालिएको हो ।

जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको अवस्थामा उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाउन प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ । उक्त प्रतिवेदनमाथि जनकपुरधामका समाजका अगुवा, विज्ञ तथा सरोकारवालासँग सुझाव संकलन गरी अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।

अन्तिम प्रतिवेदन तयार भएपछि विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि युनेस्कोमा पेस गर्ने योजना रहेको जानकारी दिदैँ उनले प्रतिवेदन तयार पार्ने कामका लागि आफू नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको बताएका छन् । नेपाल सरकारले गत भदौ १३ गते मन्त्रिपरिषद्बाट जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको अवस्थामा त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।

पुरातत्व क्षेत्रमा काम गरिसकेका रामबाबु दहालका अनुसार संरक्षित क्षेत्रको चार किल्लाभित्र पर्ने मठमन्दिर, सरोवर तथा अन्य ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरूको सर्वेक्षण गर्नुपर्ने आवश्यकता छ । उनका अनुसार संरक्षित क्षेत्र घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनका लागि क्षेत्रभित्र रहेका सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा व्यवस्थापनसम्बन्धी काम व्यवस्थित रूपमा अघि बढाउन आवश्यक छ । ‘संरक्षित क्षेत्रलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सबै पक्षबीच समन्वय आवश्यक छ,’ दहालले भने, ‘चार किल्लाभित्र रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाको सर्वेक्षण गरी त्यसको अवस्थाबारे अभिलेख तयार गर्नुपर्छ ।’ विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि जानकी मन्दिरको ऐतिहासिकता, धार्मिक महत्व, वास्तुकला, सांस्कृतिक परम्परा तथा यससँग जोडिएका विभिन्न पक्षको व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको सरोकारवालाले बताए ।

बुधवार भएको छलफलका क्रममा मन्दिरको निर्माण शैली, ऐतिहासिक पृष्ठभूमि, धार्मिक परम्परा तथा जनकपुरधामसँग जोडिएको सांस्कृतिक महत्वलाई प्रमाण र तथ्यका आधारमा दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिइएको थियो । जानकी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा रहेकाले यसको संरक्षणलाई स्थानीय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय तहमा समेत स्थापित गर्नुपर्ने धारणा वक्ताहरुले छलफलमा राखेका थिए ।

ऐतिहासिक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी नयाँ भौतिक संरचना निर्माण गर्न नहुने र विकास निर्माणका गतिविधिलाई सम्पदा संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा छलफलमा जोड दिइएको थियो । जानकी मन्दिर वरपर तथा संरक्षित क्षेत्रभित्रका ऐतिहासिक स्थलको मौलिकता जोगाउँदै आवश्यक पूर्वाधार विकास गर्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए । संरक्षित क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य सांस्कृतिक सम्पदाको अवस्था पहिचान गरी संरक्षणको योजना बनाउनुपर्ने आवश्यकतामाथि समेत छलफलमा जोड दिइएको थियो ।

Comment

Related News

Latest News

Trending News