नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताएका छन् ।
पर्साको वीरगञ्जमा बुधबार आयोजित पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वैदेशिक शक्ति केन्द्रहरूको प्रभाव र सरकारका स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । संयोजक प्रचण्डले सडक, सदन र आगामी निर्वाचनलाई संघर्षका मुख्य मोर्चाका रूपमा उपयोग गर्दै निर्णायक राजनीतिक संघर्षमा उत्रिनुपर्नेमा जोड दिए । विगतका राजनीतिक घटनाक्रम, गणतन्त्र र संविधानको रक्षा तथा कम्युनिस्ट आन्दोलनको अवस्थाबारे चर्चा गर्दै प्रचण्डले वर्तमान सरकार विदेशी शक्तिको प्रभावमा चलेको आरोप लगाए । नेपाली जनताको हातबाट राजनीतिक नेतृत्व र निर्णय गर्ने अधिकार क्रमशः उम्किने खतरा बढेको उनले दाबी गरे ।
‘सुगौली सन्धियता यति ठूलो राष्ट्रिय संकट कहिल्यै देखिएको थिएन,’ संयोजक प्रचण्डले भने, ‘देशमा प्रतिक्रान्तिको हावा चलाउने र जनताले प्राप्त गरेका अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ ।’ उनले संविधान र गणतन्त्रको रक्षा अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेको बताए । विगतमा संविधान र गणतन्त्र जोगाउन आफूहरूले मध्यरातिसम्म संघर्ष गरेको स्मरण गर्दै उनले अहिले पनि मुलुकमा ‘खतराको घण्टी’ बजिरहेको टिप्पणी गरे । ‘संविधान र गणतन्त्र जोगाउन हामीले हिजो पनि मध्यरातिसम्म संघर्ष गरेका थियौँ, आज पनि खतराको घण्टी बजिरहेको छ,’ उनले भने ।
प्रचण्डले वीरगञ्ज र समग्र मधेश क्षेत्रको राजनीतिक तथा ऐतिहासिक योगदानको पनि चर्चा गरे । २००७ सालको राणाविरोधी हतियारबद्ध संघर्ष, २०१२ सालको किसान विद्रोह तथा २०३६ सालका आन्दोलनमा मधेस क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । मधेशका जनता विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनका अग्रणी रहेको उल्लेख गर्दै उनले वर्तमान राजनीतिक परिस्थिति र सामाजिक अन्यायविरुद्ध पनि मधेसका जनता पुनः संगठित हुनुपर्ने बताए ।
‘मधेशसका जनता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्,’ प्रचण्डले भने, ‘अहिलेको निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ ।’ नयाँ राजनीतिक दल तथा जनप्रतिनिधिप्रति पनि प्रचण्डले आलोचनात्मक टिप्पणी गरे । विचार, सिद्धान्त र राजनीतिक इतिहासभन्दा सामाजिक सञ्जालको भ्रम तथा नकारात्मक प्रचारका आधारमा जनतालाई प्रभावित पार्ने प्रवृत्ति बढेको उनको आरोप थियो । सामाजिक सञ्जालको एल्गोरिदमले जनमतलाई प्रभावित पारिरहेको दाबी गर्दै उनले आफ्नो पार्टी र विगतका सरकारले गरेका जनपक्षीय काम जनतासम्म प्रभावकारी रूपमा पु¥याउन नसक्दा भ्रम सिर्जना भएको बताए ।
‘सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफीमको नशाजस्तै बनाएको छ,’ उनले भने, ‘हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दालाई जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो ।’ उनले वर्तमान सरकारमाथि सुकुम्बासीमाथि बल प्रयोग र डोजर चलाउनेदेखि तराई–मधेसका साना व्यापारी तथा किसानमाथि करको भार थप्ने काम गरेको आरोप लगाए । सरकारमा आएलगत्तै दुई–तिहाइको घमण्ड देखाउँदै जनताका समस्या समाधान गर्नुभन्दा बल प्रयोग र दमनको बाटो रोजिएको उनको दाबी थियो ।
विधि र प्रक्रिया मिचेर रातारात गिरफ्तारी गर्ने तथा नागरिकका लोकतान्त्रिक अधिकार सीमित गर्ने प्रयास भइरहेको आरोपसमेत उनले लगाए । कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले पर्सा जिल्ला नेपालको आर्थिक तथा रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र भएको बताए । भारतसँग जोडिएको मुख्य व्यापारिक नाका, प्रस्तावित निजगढ अन्तर्र ाष्ट्रिय विमानस्थल तथा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) जस्ता राष्ट्रिय महत्वका पूर्वाधारसँग पर्साको प्रत्यक्ष सम्बन्ध रहेको उनले बताए ।
पर्साको भौगोलिक तथा आर्थिक महत्त्वका कारण यहाँ पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने नेपालले बताए । क्रान्तिकारी विचार र नीतिलाई आत्मसात् गर्दै अनुशासित, गतिशील र पार्टीप्रति प्रतिबद्ध संगठन निर्माण अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ थियो । सो कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज महेन्द्र राय यादवले आफूले लामो समय मधेसको क्षेत्रीय राजनीतिमा बिताएको उल्लेख गर्दै त्यसप्रति पश्चाताप व्यक्त गरे । उनले राष्ट्रिय राजनीतिमा नेपाली कम्युनिस्ट पार्टी नै नेपाली जनताको विकल्प भएको दाबी गरे ।
पूर्वमन्त्रीसमेत रहेका इन्चार्ज यादवले मधेशको क्षेत्रीय राजनीतिमा १८ वर्ष सक्रिय रहे पनि अब राष्ट्रिय राजनीतिको मूलधारमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै, मधेशी मोर्चाका इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले जनयुद्ध, जनआन्दोलन तथा मधेशी, आदिवासी–जनजाति, थारूलगायत विभिन्न समुदायले गरेका आन्दोलनका कारण वर्तमान राजनीतिक उपलब्धि हासिल भएको बताए ।
प्राप्त उपलब्धिको रक्षा गर्न मधेशका जनतालाई कम्युनिस्ट विचार र राजनीतिक एजेन्डाबारे थप प्रशिक्षित गर्नुपर्नेमा उनले जोड दिए । विभिन्न आन्दोलनबाट प्राप्त अधिकार संस्थागत गर्न राजनीतिक चेतना र संगठनलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो । सो कार्यक्रममा पार्टी एकता समायोजनसँगै सहभागी नेता तथा कार्यकर्तालाई शपथ ग्रहण गराइएको थियो । प्रशिक्षण कार्यक्रममा पार्टीको राजनीतिक विचार, संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा तथा वर्तमान परिस्थितिमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो ।



