२०८३ आश्विन १६, शुक्रबार ०७:१६

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पस प्रशासनले अतिथि सत्कार, खाना तथा नास्तालगायतका शीर्षकमा ठूलो रकम अनियमितता गरेको भन्दै खर्च हिसाब सार्वजनिक गर्न माग गरेका छन् ।

खर्च हिसाब सार्वजनिक गर्न माग गर्दै ती विद्यार्थीहरु गत एक सातादेखि आन्दोलन समेत गर्दै आएका छन् । आन्दोलनरत विद्यार्थीहरूले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै क्याम्पसको आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने माग गरेका हुन् । उनीहरूले क्याम्पस प्रशासनले विभिन्न शीर्षकमा गरेको खर्च हिसाब सार्वजनिक सहितका आफूहरुको माग ४८ घण्टाभित्र सार्वजनिक नगरे आन्दोलन चरणबद्ध रुपमा थप सशक्त बनाउंदै क्याम्पस प्रमुखलाई कालोमोसोसम्म दल्ने चेतावनी दिएका छ्न ।

राराब क्याम्पस स्ववियुका पूर्वसभापति मनिष यादवले गत आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणसम्बन्धी टीडीएस विवरणमा निर्मला श्रेष्ठको नाममा ४० लाख ८५ हजार ६ सय ६५ रुपैयाँ र शारदा देवी लामिछानेको नाममा भुक्तानी भएको ८ हजार ६ सय रुपैयाँ बारे प्रयोजन स्पष्ट पार्न माग गरे । यसका साथै विभिन्न होटलमा अतिथि सत्कारको नाममा १० लाख रुपैयाभन्दा बढी र किराना तथा कस्टेमिक पसललाई ५ लाखभन्दा बढी रकम भुक्तानी गरिएको बारे प्रश्न समेत उनीहरुले उठाए । विद्यार्थी रञ्जित मण्डलले क्याम्पस प्रशासन, कर्मचारी तथा ठेकेदारहरू विद्यार्थीको शैक्षिक हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाए ।

कर्मचारी र ठेकेदारको मिलेमतोमा कमिसनको खेल भइरहेको आरोप लगाउँदै टेण्डर लागेका योजनालाई बिचमै तोडी कमीशनका लागि सोही कार्यका गर्न २७ वटा कोटेशन मार्फत काम गराएको आरोप पनि लगाए । विद्यार्थीहरूले क्याम्पसको सम्पूर्ण आय–व्यय सार्वजनिक गरी आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने, स्मार्ट कक्षाकोठा तथा स्मार्ट पुस्तकालय निर्माण गर्नुपर्ने र नियमित रूपमा कक्षा सञ्चालन गर्नुपर्ने लगायतका माग अघि सारेका हुन् ।

Comment

Related News

Latest News

Trending News