धनुषामा चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । हिन्दूहरुको महापर्व भनिएका दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना परिचालन जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार एक पत्रकार उसम्मेलन आयोजना गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना बारे जानकारी दिदै प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने विशेष सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, बजार अनुगमन, मोबाइल टोली र रिफ्रेश प्वाईन्ट लगायतको व्यवस्था गर्ने तयारी रहेको भने । उनका अनुसार जिल्लाका संवेदनशिल क्षेत्रमा ७० वटा ठाउँमा पिकेट टोली राखिने छ भने आवश्यकता र औचित्यको आधारमा आकास्मिक रुपमा परिचालन गर्न ४६ वटा पैदल गस्ती, बजार अनुगमनका लागि ७ टोली परिचालन गरिनेछ ।
यस्तै, स्वीप अपरेशनका लागि ७ वटा ठाउँ पहिचान गरिएको छ भने सोही अनुसार प्रहरी परिचालनसहित विपद् प्रतिकार्यका लागि १५ वटा टिम, गाडी मोबाइल १३ वटा, लालगढमा एउटा रिफ्रेस सेन्टर, लामो दुरीका सवारी साधन चेकजाँच गर्न २ स्थान, दैनिक आरएससीसी चेकिंगको व्यवस्था गरिने तयारी अघि बढाइएको प्रहरी प्रमुख खड्काले बताए । चाडपर्वको समयमा बैँक तथा वित्तीय संस्था, सुन–चाँदी पसल, मोटरसाइकल चोरीका लागि बीएसपी सुरक्षा कार्ययोजना तयार पारिएको जानकारी दिँदै उनले चाडपर्व लक्षित सुरक्षा योजनामा जम्मा एक हजार २ सय ११ प्रहरी परिचालन समेत गरिनेछ ।
पत्रकार सम्मेलनमा उनले जेठ २३ गतेदेखि असोज १५ गतेसम्म जिल्ला प्रहरी कार्यालयबाट भएको गतिविधिको बारेमा जानकारी उनले दिए । उनका अनुसार यसअवधिमा ५९९ वटा मुद्दा दर्ता भएकोमा ५९० वटा फछर्यौट भएको छ । त्यस्तै, अनुसन्धानमा ६६ वटा चालु मुद्दा रहेको भने विगतदेखि हालसम्म १ हजार २७० वटा पेण्डिंग मुद्दा रहेको जानकारी समेत उनले दिए । फैसला कार्यान्वयको क्रममा यस अवधिमा ६३८ जना फरार प्रतिवादी पक्राउ परेको छ र तिनीहरुबाट अदालतले तोकेको २ सय ३० वर्ष ९ महिना २६ दिन कैद तथा २ करोड १४ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ जरिवाना कार्यान्वयनका लागि असुलउपर गरिएको एसपी खड्काले बताए ।
सीमा क्षेत्रमा हुने चोरी निकासी तथा अवैध कारोबार नियन्त्रणका क्रममा प्रहरीले ८६ लाख ९६ हजार ८ सय ६६ रुपैयाँ बराबरको सवार ीसाधन, लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ । सो क्रममा ११ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानबाट ३९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ सय ७५ दशमलव ५१६ किलो गाँजा, ४ सय २३ दशमलव १ ग्राम ब्राउन सुगर, ८ सय १० थान नाइट्रोभेट ट्याब्लेट तथा डाइजिपामलगायतका २ हजार ४ सय ८७ थान इन्जेक्सन एम्पुल बरामद गरिएको प्रहरी प्रमुख खडकाले बताए ।
प्रहरीका अनुसार उक्त अवधिमा घरेलु हिंसासम्बन्धी ३ सय ७७ वटा उजुरी परेका थिए । तीमध्ये ३ सय ४९ वटा उजुरीमा मिलापत्र गरिएको छ भने २८ वटा उजुरी अनुसन्धान प्रक्रियामा रहेका छन् । सामाजिक हिंसासम्बन्धी ३ सय २० वटा उजुरी परेकोमा २ सय ९६ वटा मिलापत्र गरिएको र २४ वटा उजुरी अनुसन्धानका क्रममा रहेको उनले जनाए । मानिस खोजतलासतर्फ धनुषामा विभिन्न समयमा हराएका २ सय १ जनाको विवरण प्रहरीले प्राप्त गरेको जनाएको छ । हराउनेमा ८७ महिला, २० बालक र ८९ बालिका रहेका छन् । प्रहरीको खोजतलासबाट हालसम्म १ सय ३३ जना फेला परिसकेका छन् भने ६८ जनाको खोजतलास जारी रहेको छ ।



