२०८३ आश्विन १७, शनिबार ०७:५४

वडा दशैंको आगमनसंगै जनकपुरधामको मुटु भनिने राम मन्दिर परिसर झकिझकाउ हुन्छ । दुर्गा प्रतिमा निर्माण हुने रामानन्द चोक, जीरोमाइल, विद्यापति चोक, पूल चोक आदि स्थान पनि रंगिचंगी हुन्छन् । राजदेवी मन्दिर, बौधीमाई, अमरखना मन्दिर, पिडरियामाई मन्दिर, सोनासतीमाई मन्दिरलगायतका शक्तिपीठहरुलाई विशेष साजसृंगार गरिन्छ । गोपाल धर्मशालामा लाग्ने दशैं बजार तथा पछिल्लो केही वर्षदेखि नव मिथिला फाउण्डेशनले आयोजना गर्न लागेको झिझिया महोत्सवले जनकपुरधाम उत्सवमय बन्छ । वर्षभरि आ–आफ्ना बन्द–व्यावसायका लागि रहने जनकपुरधामका युवाहरु गणेश पूजादेखि छठ पर्वसम्म अत्यधिक व्यस्त रहन्छन् ।

स्थानीय युवाहरुको सक्रियतामा सञ्चालित श्रीराम युवा कमिटी, महावीर युवा कमिटी, गणेश युवा कमिटी, रामनन्द युवा कमिटी, विद्यापति युवा क्लब आदिका मिहिनती युवाहरुको सक्रियतालाई धन्यवाद दिनैपर्ने हुन्छ । युवाहरुकै सक्रियताका कारण आज जनकपुरधामको दशैं चर्चित बनेको छ । छठि महापर्व अवलोकन, अध्ययन तथा अनुसन्धान गर्न देशीविदेशी पर्यटक तथा अन्वेषकहरु आउन थालेका छन् । सरकारले गनुपर्ने काम यहाँका युवा कमिटीहरुले गरेका छन् । यसअर्थमा स्थानीय युवा क्लवहरुलाई धन्यवाद दिनै पर्ने हुन्छ । तर, हजारौं श्रद्धालुको सहभागिता रहने दशैं मेलाको व्यवस्थापन माथि सवालहरु पनि थुप्रै छन् ।

मेला अवधिभरि हुने ध्वनी प्रदुषण, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, श्रद्धालु तथा यिनीहरुका जुत्ता–चप्पल व्यवस्थापन चुनौतीको रुपमा देखा परेका छन् । यी चुनौतीहरुमध्ये केही स्थानीय प्रशासनसंग, केही मेला आयोजक संघ–संस्थाहरुसंग तथा केही चन्दाको नाममा रकम असूली गर्ने युवा कमिटीहरुको रणनीतिसंग सम्बन्धित छन् । दशैं–तिहारदेखि छठिसम्मको सुरक्षा व्यवस्थाबारे प्रहरी उपरीक्षक रुपेश खड्काले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । एसपी खड्का अनुसार, पर्व– तिहारमा सुरक्षा व्यवस्था बनाई राख्न, १ हजार २ सय ११ सुरक्षाकर्मी परिचालन गरिने, ७० वटा पिकेट तथा ४६ वटा पैदल गस्ती परिचालन गरिने छ । तर एसपी खड्काले गत वर्ष दशैंको अवसरमा राम मन्दिर प्राङणमा लगाइएको रमाइलो मेलामा भएको झुला दुर्घटनाबारे केही बोल्न सक्नु भएन । जिल्ला सुरक्षा संयन्त्रमा रहने जनपथ, सशस्त्र तथा अनुसन्धानका एसपी साहेबहरु नयाँ छन् ।

तर प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, गुठी संस्थानका प्रमुख, मेला आयोजक संघ संस्थाका पदाधिकारीसंगै जनकपुरधामवासी त पुरानै छन् । उनीहरुले गत वर्षको वडा दशैंमा राम मन्दिर प्राङणमा भएको झूला दुर्घटना आफ्नै आँखाले देखेका थिए । झुलाको एउटा पिलर भासिदा आधा दर्जन बालबालिका घन्टौंसम्ममाथि फसेका थिए । सयौं फिट माथि आकाशमा रोकिएका बालबालिकाको त्रास, ती नानीहरुका आमाबुबाका पीडा अनुभव गर्न त्यो त्रासदीमा फसेका नानीबाबुको आफन्त भएर मात्र अनुभव गर्न सकिन्छ । राजदेवी माताको कृपाले ती बाबू नानीहरुलाई सुरक्षित अवतरण गर्न सकिएको थियो । ्राप्त जानकारी अनुसार, यस वर्ष पुनः त्यही झुला जडान गरिँदैछ ।

ज्यान जानेसम्मको जोखिम भएको यस्तो झुला जडान गर्दा स्थानीय प्रशासनसंग अनुमति लिनु पर्ने हो । झुला सञ्चालन गर्नेले सेवाग्राहीको बीमा गरेको छ कि छैन, यसको हेक्का पनि राख्नु पर्ने हो । भाडा वापत केही रुपियाँ चन्दा आउलान् भने उद्देश्यले कसैको ज्यानसंग खेलवाड गर्ने छुट कसैलाई छैन । शक्तिपीठहरुको साजसृंगारको नाममा राजदेवी मन्दिरको वरिपरी सडकमै बाँस खडा गरेर ठुल–ठुला प्रवेशद्वार, पण्डाल आदि निर्माण गरिँदैछ । एकातिर यी पण्डालको कारण सडक सांगुरो हुन्छ । अर्कोतिर फुटपैथमा पसल लगाउनेहरु फुटपाथसंगै सडकको दुबैपट्टी पसल थापेर बस्छन् । यस वर्ष पुनः राम मन्दिर अगाडिको पार्क र बौधी माई मन्दिरको खाली स्थानमा व्यावसायिक प्रयोजनका रमाइलो मेला लगाइएको छ ।

अर्को शब्दमा भनौं भने राजदेवी मन्दिर वरिपरीका सडक र चोक मीना बजार जस्तै बन्ने छ । वडा दशैंको उत्तरार्ध अर्थात् फूलपाती, खोँइछ भराई, प्रसाद चढाउने तथा बोकावलीको दिन एक लाखभन्दा अधिक श्रद्धालु भेला हुन्छन् । मेला आयोजक तथा स्थानीय प्रशासनले आत्ममन्थन गरेका छन् – कथंकदाचित भिड अनियन्त्रित भयो । भगदडमच्यो । सर्टसर्किट भयो वा गत वर्ष जस्तै झुला भत्कियो भने घटना स्थलसम्म एम्बुलेन्स, टिपर, क्रेन आदि कसरी ल्याउने ? वृद्धवृद्धा, बाल–बालिका र महिलाहरुलाई कुन खाली स्थानमा सुरक्षित राख्ने ? सुरक्षा विज्ञहरुलाई राम्ररी थाहा छ– यस्तो विषम परिस्थितिमा खाली स्थान आवश्यक हुन्छ । जहाँ भीडलाई व्यवस्थान गर्न सकियोस् । घाइतेहरुलाई उपचार गर्न सकियोस् । तर दुर्भाग्य राजदेवी मन्दिरसंगै टाँसिएको राम मन्दिर अगाडिको पार्कमा यस वर्ष पुनः रमाइलो मेला लगाइएको छ । राजदेवी मन्दिर र बौधीमाई मन्दिरमा बज्ने बेग्लाबेग्लै लाउड स्पीकरको चर्कोध्वनीले श्रद्धालुसंगै स्थानीयवासी वाक्दिक्क हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले दिनको समयमा ६५ डिसिबल र रातिको समयमा ५५ डिसिबल भन्दाचर्को स्वरलाई ध्वनी प्रदुषणको श्रेणीमा राखेको छ । ७५ डिसिबलभन्दा चर्को ध्वनी स्वास्थ्यको लागि हानिकारक हुन्छ । १२० डिसिबलको ध्वनीले गर्भवती महिलाहरुको गर्भ तुहिने, कानको जाली फुट्ने, हृदयघात हुने, बालबालिकामा बहिरोपन तथा मानसिक समस्या उत्पन्न हुन सक्छ । जनकपुरधामका पर्व–तिहारहरुलाई वैश्विक पहिचान दिलाउन यहाँका युवा क्लबहरुको भूमिका सराहनीय छ । यसका लागि यिनीहरु धन्यवादका पात्र हुन्, तर आयोजक संस्थाहरुले ध्वनी प्रदुषण, शान्ति सुरक्षा, मौलिक गीत संगीत आदिको विषयमा पनि ध्यान पु¥याउन सके सुनमा सुहागा जस्तै हुनेछ । राजदेवी माताले रक्षा गरुन् ।

Comment

Related News

Latest News

Trending News