२०८३ आश्विन १७, शनिबार १२:०४

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

स्थानीय रामहरि दासका छोरा २८ वर्षीय राजेश दास शुक्रबार बिहान स्थानीय अरविन्द यादवको पोखरीमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।

पोखरीमा युवकको शव देखेपछि स्थानीयले बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी सहायक निरीक्षक ९सई० विनोद पासवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको टोलीसमेत घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार युवकको मृत्यु पोखरीमा डुबेर भएको हो वा अन्य कुनै कारणबाट भन्नेबारे यकिन भइसकेको छैन। घटनाको प्रकृति र मृत्युको कारण खुलाउन प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारणबारे थप जानकारी आउने जनाएको छ।

Comment

Related News

Latest News

Trending News