२०८३ आश्विन १७, शनिबार १२:११

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेपछि रौतहटका नेपाली सेनाका जवान अभिषेक गुप्ताको कुशको शव बनाएर हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको छ।

मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका २२ वर्षीय छोरा गुप्ता नेपाली सेनाको श्री शेरगण कार्यालय, रसुवामा जवान पदमा कार्यरत थिए। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा उनी बेपत्ता भएका थिए।

बाढीपछि परिवार र सुरक्षाकर्मीले उनको खोजी जारी राखेका थिए। लामो समयसम्म खोजी गर्दा पनि गुप्ताको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले धार्मिक परम्पराअनुसार कुशबाट शवको आकृति बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

शव फेला नपरे पनि हिन्दु संस्कारअनुसार कुशको शव बनाएर गरिएको अन्तिम संस्कारमा परिवारजन, आफन्त तथा स्थानीयको सहभागिता रहेको थियो।

अन्तिम संस्कारका क्रममा नेपाली सेनाको नारायण दल गण , गौर पुरेनवाबाट गएको टोलीले सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो। टोलीको नेतृत्व गणपति प्रमुख सेनानी कर्णेल विश्वास बिष्टले गरेका थिए।

एक महिनाभन्दा बढी समयसम्म छोराको सकुशल फिर्तीको आशामा बसेको परिवारले अन्ततः धार्मिक विधिअनुसार अन्तिम बिदाइ गर्नुपरेपछि गाउँमा समेत भावुक वातावरण बनेको थियो।

Comment

Related News

Latest News

Trending News