२०८३ आश्विन १८, आईतवार ०७:४२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बारा क्षेत्र नम्बर २ का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि जिल्ला प्रहरी कार्यालय बाराले गत असोज ६ गते सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मुद्दामा देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोले जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । यसअघि पनि सांसद सिंहमाथि सो मुद्दामा जाहेरी दर्ता गराउने प्रयास भए पनि प्रहरीले भने आनाकानी गरेका थिए । ‘उच्च अदालतको परमादेशमा उक्त मुद्दा दर्ता भएको हो । मुद्दामा अनुसन्धान भइरहेको छ । यसअघि पनि त्यो मुद्दा दर्ता गराउने प्रयास भएको थियो, तर भएको थिएन,’ एसपी कुँवरले भने, ‘त्यसकारण उच्च अदालतको परमादेशले दर्ता भए पनि अनुसन्धान भइरहेको छ । तर पक्राउ पुर्जी भने जारी भएको छैन ।’ जाहेरीकर्ता महतो देवताल गाउँपालिकामा सुपरभाइजर पदमा करार सेवामा कार्यरत रहेको उल्लेख छ । उनले समाजमा भइरहेका गलत गतिविधिको विरोध गरेका कारण आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरिएको आरोप लगाएका छन् ।

जाहेरी अनुसार २७ कात्तिक २०८१ मा सांसद सिंहको संलग्नतामा अन्य व्यक्तिहरूको सहभागितामा महतोलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयका कारण आफू र आफ्नो परिवारलाई सामाजिक रूपमा अपहेलित तथा अपमानित हुनुपरेको महतोको दाबी छ । महतोले गाउँपालिकामा आफूविरुद्ध उजुरी परेपछि आफू सात दिन निलम्बनमा परेको समेत जाहेरीमा उल्लेख गरेका छन् । उनले आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने, अपमान गर्ने तथा गाउँघरमा आफ्नो चरित्र र व्यक्तित्वमा आँच पुग्ने गरी विभिन्न किसिमका प्रचार–प्रसार गरिएको जाहेरीमा लेखिएको छ । सो जाहेरीमा महतोले विपक्षीहरूले गाउँमा विकाससम्बन्धी काम गर्न अवरोध गरेको आरोप पनि लगाएका छन् ।

त्यस्ता अवरोधका बाबजुद आफूले विकाससम्बन्धी काम अघि बढाउन पहल गरेपछि विभिन्न व्यक्तिसँग मिलेर आफूलाई समाजबाट बहिष्कार गर्ने निर्णय गरिएको उनको दाबी छ । जाहेरी अनुसार आफू तथा आफ्नो परिवारका सदस्यलाई गाउँमा हुने विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन नदिने वातावरण सिर्जना गरिएको थियो । सार्वजनिक स्थान तथा धार्मिक स्थलमा समेत आफूलाई बहिष्कार गर्न लगाइएको र विभिन्न माध्यमबाट अपमानजनक व्यवहार गरिएको महतोको आरोप छ । उ न ल े गाउँघरमा आफ्नो सामाजिक प्रतिष्ठामा असर पर्ने गरी आफूविरुद्ध विभिन्न किसिमका कुरा प्रचार– प्रसार गरिएको दाबीसमेत गरेका छन् ।

महतोले जाहेरीमा आफूलाई ‘ठूलोबडा बन्ने व्यक्ति’का रूपमा चित्रण गर्दै आफ्नो विरोधमा गाउँका दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका मानिसलाई पैसा तथा अन्य प्रलोभन दिएर प्रयोग गरिएको आरोपसमेत लगाएका छन् । विपक्षीहरूको गतिविधिका कारण आफ्नो व्यक्तिगत चरित्र, आचरण तथा सामाजिक प्रतिष्ठामा असर परेको उनको दाबी छ । आफू र परिवारका सदस्यले गाउँ तथा समाजमा अपहेलना र अपमानको सामना गर्नुपरेको भन्दै उनले घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन् । महतोले दिएको जाहेरीमा सांसद सिंहसहित १४ जनाको नाम उल्लेख गरिएको छ ।

जाहेरीमा सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नामसमेत उल्लेख छ । जाहेरीकर्ताले घटनासँग सम्बन्धित प्रमाणका रूपमा विपक्षीहरूले गरेको भनिएको निर्णयको फोटोकपीसमेत संलग्न गरेको बताएका छन् । उनले आवश्यक अनुसन्धान, सरजमिनलगायतका प्रक्रिया पूरा गरी घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीसमक्ष माग गरेका छन् । यसका साथै, अनुसन्धानका क्रममा आफूलाई आवश्यक परे उपस्थित हुने प्रतिबद्धता पनि जाहेरीमा जनाइएको छ । सांसद सिंह २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोसपाबीच एकीकरण भएपछि उनी निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेका थिए । त्यसपछि उनी बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मुद्दा दर्ता भए पनि हालसम्म सांसद सिंह वा अन्य आरोपितविरुद्ध पक्राउ पुर्जी जारी नभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News