गगनकुमार थापा समूह नेपाली कांग्रेसको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहको परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएको हो । सर्लाही–४ को क्षेत्रीय अधिवेशनबाट उनीहरू सबै सर्वसम्मत चुनिएको बताइएको छ । धनकौल–२ का सिंहसँगै मधेश प्रदेशका पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्रप्रसाद सिंह, बेबी सिंह र सुधीरकुमार सिंहको नाम सर्लाही–४ बाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको सूचीमा उल्लेख छ ।
वीरेन्द्र पूर्वसभापति सुरेन्द्रका सहोदर भाइ हुन् । उनी मधेश प्रदेश कार्यसमितिका उपसभापति रहेका छन् । बेबी पूर्वसभापति सुरेन्द्रकी श्रीमती र सुधीर छोरा भएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार पूर्वसभापति सुरेन्द्रका दुई जना भिनाजु पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधमा चयन भएका केदारनन्दन चौधरी र रविनन्दन चौधरी सुरेन्द्रका भिनाजु हुन् । भ्रष्टचार मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरेन्द्रले २०८२ भदौ पहिलो साता जिल्ला सभापतिबाट राजीनामा दिनुपरेको थियो । विशेष अदालतबाट २०७१ पुस २५ मा मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा सुरेन्द्रले भ्रष्टाचार गरेको ठहर भएको थियो ।



