२०८३ आश्विन १८, आईतवार ०८:१०

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएकाले संघर्ष गर्ने चेतावनी दिएका छन् ।

जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र पहिचानका लागि संघर्ष गर्नुपर्ने बेला आएको बताए । नेपालमा अझै पनि मधेसी उत्पीडनमा रहेको धारणा राखे । अब आफ्नो अधिकारका लागि सबै मिलेर सङ्घर्ष गर्नुपर्ने बताउँदै उनले जनमत पार्टी र जसपा नेपालको धेरै कुरामा समानता रहेको धारणा राखे । यति समानता रहँदा पनि एक साथ किन नरहेको भन्दै उनले अब एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘हामी आफ्नो अधिकार र पहिचानका लागि लड्छौँ, त्यसका लागि अग्रगामी मोर्चा गठन गरेको छौँ र एक साथ अगाडि बढ्ने प्रयास भइरहेको छ ।’ मधेस आठ जिल्लामा मात्र सीमित नरहेको भन्दै उनले मेचीदेखि महाकालीसम्मको भूभाग मधेस रहेको बताए । ‘सरकार र तत्कालीन मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौतामा एक मधेस एक स्वायत्त प्रदेशको सम्झौता भयो । संविधानका लेखनदासहरूले मधेसीको हत्या गरेर संविधान लेखेका हुन्’ उनले भने, ‘जबरजस्ती मधेसलाई आठ जिल्लामा कायम गरिएको छ ।’ प्रदेशमा आफ्नो शासन प्रशासन नभएसम्म अधिकार प्राप्त नहुने भन्दै उनले सङ्घमा समान अधिकार पाउनुपर्ने बताए । उनले त्यसका लागि मधेसी एकता गरी सङ्घर्षमा जानुपर्ने धारणा समेत राखे । जबसम्म यो विभेद र असमानता रहन्छ तबसम्म अधिकार प्राप्तिको अनुभूति प्राप्त नहुने बताउँदै उनले राष्ट्रियसभामा मधेसको जनसङ्ख्याको आधारमा सहभागिता नदिएको गुनासो गरे । आधा जनसङ्ख्या रहेको मधेसको प्रतिनिधित्व राष्ट्रियसभामा १० प्रतिशत मात्र रहेको उनको भनाइ छ । सात प्रदेशको संरचना परिवर्तन गर्नुपर्ने बताउँदै उनले संरचना परिवर्तन भए मात्र संघीयता बलियो हुने दाबी गरे ।

Comment

Related News

Latest News

Trending News