नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका नयाँ ऊर्जा र संकल्प लिने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
महाधिवेशनमार्फत कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्ने उहाको भनाइ छ । उहाले कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै हारलाई निराशाको कारण बनाउन नहुने उल्लेख गर्नुभयो । अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उहाले बताउनुभयो ।
उहाले लोकतन्त्र र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको धारणा राख्नुभयो । सभापति थापाले १० वर्षपछि खुलेको खुलामञ्चलाई पनि जनतासँग संवाद गर्ने राजनीतिक संस्कारसँग जोडेर व्याख्या गर्दै संसद पनि जनताका प्रश्न र आवाजका लागि खुला हुनुपर्ने बताउनुभयो । सभापति थापाले प्रधानमन्त्रीले जनताको कुरा नसुन्दासम्म संसद र शासन व्यवस्था जनताका लागि खुला भएको अनुभूति नहुने जिकिर गर्नुभयो । उहाले महाधिवेशनमा पूर्वसभापति शेर बहादुर देउवाका लागि कुर्सी खाली राखिएको भए पनि सहभागी हुन नआएको भन्दै पार्टीले अब यस विषयमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभयो ।
उहाले कांग्रेसको नेतृत्व र संगठनमा परिवर्तनसँगै पार्टीबाट बाहिरिएका नेता–कार्यकर्तासँगको सम्बन्धबारे पनि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । सभापति थापाले जनताले दिएको मतको सम्मान गर्दै संसदमा पुगेका कांग्रेसका सांसदहरूले जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।



