धनकुटाको भेडेटारबाट महोत्तरी ल्याइएको करिब ४८७ किलो प्रतिबन्धित गाँजा बरामद भएको प्रकरणमा अनुसन्धानका क्रममा मुख्य भूमिका देखिएका भनिएका एक व्यक्तिलाई जिल्ला सरकारी वकिल कार्यालय, महोत्तरीले प्रतिवादी नबनाई उन्मुक्ति दिएको आरोप लागेको छ । म
होत्तरीको एकडारा गाउँपालिका–५ का ३१ वर्षीय सुरेश चौधरीलाई गाँजा कारोबारमा मुख्य भूमिका रहेको भन्दै प्रहरीले पक्राउ गरी प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले चौधरीको नाम अभियोगपत्रबाट हटाएर अन्य चार जनाविरुद्ध मात्र जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको छ । जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीका अनुसार चौधरीविरुद्ध तत्काल मुद्दा चलाउन पर्याप्त प्रमाण नदेखिएकाले उनलाई प्रतिवादी नबनाइएको हो ।
थप प्रमाण फेला परेमा चौधरीविरुद्ध पछि छुट्टै अभियोग लैजान सकिने उनले बताए । गत असार २० गते बिहान करिब १ बजे महोत्तरीको एकडारा गाउँपालिका–१ भटौलियामा ना.३ ख ६५९२ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले रोकेर जाँच गर्दा ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेडक्वार्टरबाट खटिएको टोलीले ट्रकका चालक मकवानपुरको कैलाश गाउँपालिका–६ का २४ वर्षीय साधुराम थिङ र सोही ठाउँका २१ वर्षीय विपश नेगीलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले जनाए अनुसार चालक थिङको बयानका आधारमा थप अनुसन्धान अघि बढाइएको थियो ।
थिङले आफूले उक्त गाँजा असार १८ गते धनकुटाको भेडेटारबाट ‘बिक्रम राई’ नाम गरेका व्यक्तिले पठाएको बयान दिएका थिए । तर, अनुसन्धानमा उल्लेख भएका बिक्रम राईबारे प्रहरीले थप अनुसन्धान नगरेको र उनलाई प्रतिवादी बनाउन सिफारिससमेत नगरेको देखिएको छ । ट्रकबाट गाँजा बरामद भएपछि प्रहरीले असार २१ गते महोत्तरी गाउँपालिका–४ स्थित रानी रतवडामा लिलम देवीको घरमा छापा मारेको थियो। त्यहाँ लुकाएर राखिएको अवस्थामा थप ४४६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । यसरी ट्रकबाट बरामद ४० किलो ३६० ग्राम र घरबाट बरामद ४४६ किलो गरी कुल ४८६ किलो ३६० ग्राम गाँजा बरामद भएको थियो ।
सरकारी वकिल कार्यालयले ट्रक चालक थिङ, सहचालक नेगी, महोत्तरी गाउँपालिका–३ का ३६ वर्षीय रन्धीर ठाकुर र गाँजा लुकाएर राखिएको घरकी धनी लिलम देवीलाई मात्र प्रतिवादी कायम गरेको छ। सहायक जिल्ला न्यायाधिवक्ता दीपेन्द्रकुमार दासले असोज १६ गते चौधरीको नाम हटाएर उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेका छन् । प्रहरी अनुसन्धानमा भने चौधरीको भूमिका शंकास्पद देखिएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जीसमेत लिइएको थियो । अनुसन्धान प्रतिवेदनमा चौधरीलाई प्रतिवादी बनाउन राय दिइएको थियो । प्रहरी अनुसन्धानमा चौधरी र रन्धीर ठाकुरबीच गाँजा तस्करी भएको समयमा १३ पटक फोन सम्पर्क भएको कल डिटेल रेकर्ड (सीडीआर) बाट देखिएको उल्लेख छ। घटनाको समयमा चौधरीको मोबाइल लोकेसन धनुषाको जिरोमाइल, महोत्तरीको रातौली– गोहीपिपरा तथा रतवडा–बलवा क्षेत्रमा देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। रन्धीरको लोकेसनसमेत सोही आसपास देखिएको बताइएको छ ।
गाँजा रिसिभ गर्दाको समयमा चौधरी, रन्धीर र विपश नेगीको मोबाइल लोकेसनसमेत एउटै क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ। प्रहरीले यिनै विवरणका आधारमा चौधरीलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो ।अनुसन्धान अनुसार भेडेटारबाट महोत्तरी ल्याइएको गाँजालाई जनकपुरको पिडारी चोक आसपासबाट मोटरसाइकलमार्फत स्कर्टिङ गरिएको थियो । स्कर्टिङमा प्रयोग भएको म.प्र. ०२–००८ प ९२४० नम्बरको मोटरसाइकल रन्धीर ठाकुरको नाममा दर्ता रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर, जिल्ला न्यायाधिवक्ता अधिकारीले सीडीआर र मोबाइल लोकेसनको विवरण मात्र चौधरीविरुद्ध अभियोग दायर गर्न पर्याप्त प्रमाण नभएको बताए ।
अनुसन्धानको अन्तिम चरणमा प्रहरीले उनलाई प्रतिवादी बनाउन राय दिएको भए पनि अभियोग दायर गर्न आवश्यक प्रमाणको मूल्यांकन गर्दा तत्काल मुद्दा चलाउने आधार पर्याप्त नदेखिएको उनको भनाइ छ । यस प्रकरणका प्रतिवादी रन्धीर ठाकुर यसअघि पनि आपराधिक मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। उनलाई २०६९ जेठ १६ गते काठमाण्डु जिल्ला अदालतले २ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यस्तै, ट्रक चालक थिङविरुद्ध महोत्तरी प्रहरीले २०८३ असारमै अर्को लागुऔषधसम्बन्धी मुद्दा दायर गरेको थियो । असार २ ९ गते अदालतले उनलाई पुर्पक्षका लागि महोत्तरी कारागारमा पठाउने आदेश दिएको थियो ।
चौधरी यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तिरेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १६ बमोजिम पटके कसुरदारका रूपमा थप सजायको मागसमेत गरेको थियो । तर, हालको मुद्दामा उनी प्रतिवादी बनेका छैनन् । करिब ४ क्वीन्टल ८७ किलोग्राम गाँजा बरामद भएको गम्भीर लागुऔषध कारोबारमा प्रहरीले मुख्य भूमिका देखाउँदै पक्राउ पुर्जीसमेत लिएका व्यक्तिलाई सरकारी वकिलले अभियोगपत्रमा समावेश नगरेपछि अनुसन्धान र अभियोजनबीचको समन्वय तथा प्रमाणको मूल्यांकनबारे प्रश्न उठेको छ । यद्यपि, सरकारी वकिलका अनुसार चौधरीको संलग्नता पुष्टि हुने थप प्रमाण फेला परेमा उनीविरुद्ध पछि छुट्टै अभियोग दायर गर्न सकिने कानुनी बाटो खुला छ ।



