२०८३ आश्विन १९, सोमबार ०६:१३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाण्डुको खुलामञ्चमा भव्य समारोहबीच सम्पन्न भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित शुरु भएको महाधिवेशनमा देशभर तथा विदेशबाट गरी करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी भएका छन् ।

सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेका थिए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेताहरूले शुभकामना मन्तव्य दिए । उद्घाटन समारोहमा बोल्दै प्रचण्डले कांग्रेस सभापति थापा र रास्वपा सभापति लामिछानेलाई राजनीतिक ‘क्रमभंगता’लाई निरन्तरता दिन सुझाव दिए । लामिछानेले सरकार ढल्ने चर्चाको खण्डन गर्दै राजनीतिक स्थायित्वमा जोड दिए ।

लिङ्देनले निषेधको राजनीतिले मुलुकलाई जटिलतातर्फ धकेलेको भन्दै संविधान र शासन व्यवस्थाको समीक्षा आवश्यक रहेको धारणा राखे । भट्टराईले बदलिँदो समयअनुसार राजनीतिक दलहरू रूपान्तरण हुनुपर्ने बताए । सभापति थापाले भने कांग्रेसभित्र र राष्ट्रिय राजनीतिमा खुला संवादको आवश्यकता औँल्याए । उनले पहाड–मधेश, जातजाति, धर्म र पुस्ताबीच प्रत्यक्ष संवादबाट लोकतन्त्र बलियो बनाउनुपर्ने धारणा राखे । उद्घाटन सत्रमै थापाले प्रस्तुत गर्ने राजनीतिक तथा नीतिगत दस्तावेजले महाधिवेशनको आगामी छलफलको आधारसमेत तय गरेको छ । दस्तावेजमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने व्यवस्था, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार, निर्वाचनमा ‘नन अफ द अबभ’ विकल्पलगायत विषय समेटिएका छन् । यस उद्घाटन सत्रमा भने निवर्तमान सभापति शेरबहादुर देउवा अनुपस्थित रहे ।

बन्दसत्रमा प्रतिवेदनमाथि छलफल

उद्घाटनपछि अब सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते बन्दसत्र हुनेछ । बन्दसत्र पनि खुलामञ्चमै सञ्चालन गर्ने कांग्रेसको तयारी छ । ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले हिमाल, पहाड र तराई– मधेशका नाममा तीनवटा संरचना/हल तयार गरिएको छ । एउटा हलमा भएको छलफल अर्को हलका प्रतिनिधिले पनि डिजिटल बोर्डमार्फत हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपछि राजनीतिक, सांगठनिक, आर्थिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि प्रदेश तथा भूगोलका आधारमा समूहगत छलफल हुनेछ । प्रतिनिधिहरूको सुझाव र छलफलपछि आवश्यक प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । यसैबीच, नेतृत्व चयनको प्रक्रियासमेत बन्दसत्रकै बीच अघि बढ्नेछ । निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । उम्मेदवारी दर्तापछि दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्नेछ ।

२१ र २२ असोजमा मतदान, २३२ सदस्यीय कार्यसमिति

कांग्रेसले नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन प्रक्रिया अघि बढाउने कार्यतालिका बनाएको छ । महाधिवेशनबाट २३२ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । संशोधित विधानअनुसार १७१ सदस्य निर्वाचित हुनेछन् भने ६१ सदस्य सभापतिबाट मनोनयन हुने व्यवस्था छ । निर्वाचनमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ । यसपटक विद्युतीय मतदानको सट्टा कागजी मतपत्रबाट मतदान गराउने तयारी कांग्रेसले गरेको छ । मतदानपछि मतगणना गरी निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरिनेछ । यसरी उद्घाटन सत्रले कांग्रेसको राजनीतिक रूपान्तरण र नयाँ दिशाबारे बहसको सुरुवात गरेको छ भने आगामी दुई दिनको बन्दसत्रले नीति, संगठन र दस्तावेजलाई अन्तिम रूप दिनेछ । त्यसपछि हुने निर्वाचनले थापा नेतृत्वलाई निरन्तरता दिने वा नयाँ समीकरण निर्माण गर्ने भन्ने टुंगो लगाउनेछ ।

Comment

Related News