२०८३ आश्विन १९, सोमबार ०६:१८

जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा रहेको फाउन्टेन वर्षौँदेखि बिग्रिएकोमा त्यसको मरम्मत सम्भारमा सरोकारवाला निकायले चासो देखाएको छैन । जानकी मन्दिरको सौन्दर्यता र बाह्य तथा आन्तरिक पर्यटकहरुको दर्शन तथा अवलोकनसहित मनोरञ्जनका लागि लाखौ रुपैया खर्चेर करीब ७ वर्ष अगाडि प्रांगणमा फाउण्टेन निर्माण गरिएको थियो । तर केही वर्षमै बिग्रिएपछि आजसम्म सो फाउन्टेनको मरम्मत सम्भार गर्न नसकिँदा जिर्ण बनेको छ ।

मन्दिरको मुख्य प्राङ्गणमै रहेको फाउन्टेन लामो समयदेखि प्रयोगविहीन र जीर्ण अवस्थामा पुग्दा मरम्मत सम्भार हुन नसक्नुले सम्बन्धित बेवास्ता गरेको जस्तो देखिएको स्थानीयको गुनासो छ । स्थानीय युवा श्याम चौधरीका अनुसार फाउन्टेन बिग्रिएको पाँच वर्षभन्दा बढी भइसक्दा पनि त्यसको मर्मतमा सम्बन्धित तीनै तहका सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन । उनले पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थानमा रहेको संरचनाको सामान्य मर्मतसम्भारसमेत हुन नसक्नु दुःखद भएको बताए । ‘जनकपुरधामको पहिचान बोकेको जानकी मन्दिर अगाडि वर्षौँदेखि एउटा फाउन्टेन टुटेर अलपत्र अवस्थामा छ । यसलाई मर्मत गर्न सरकारसँग बजेट नभएको हो कि इच्छाशक्ति नभएको हो ? भन्ने प्रश्न चौधरीको छ । अर्काका स्थानीय जगरनाथ मुखिया भन्छन् — ‘जानकी मन्दिरमा आउने पर्यटकले मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वसँगै वरपरको वातावरण र संरचनाको अवस्थालाई पनि नियाल्ने गर्छन् । यस्तो अवस्थामा मुख्य प्रवेश क्षेत्रमै वर्षौँदेखि बिग्रिएको संरचना देखिँदा जनकपुरधामको पर्यटन व्यवस्थापनप्रति नकारात्मक सन्देश गइरहेको छ ।’

जानकी मन्दिरलाई जनकपुरधामको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा लिइन्छ । यहाँको पूर्वाधार, सरसफाइ, सौन्दर्यीकरण र संरक्षणले समग्र जनकपुरधामको पर्यटन छविमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले वर्षौँदेखि बिग्रिएको संरचनाको मर्मतमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ । वर्षौँदेखि उस्तै अवस्थामा रहेको यो संरचनाले भने ‘पर्यटन विकासको दाबी र धरातलीय अवस्थाबीचको अन्तर’ प्रस्ट देखाइरहेको मुखियाको भनाई छ । ती फाउण्टेन मधेश प्रदेश सरकारद्वारा २०७६ सालमा मुख्यमन्त्री स्वच्छता अभियान योजना अन्तर्गत करीब ७ करोडको लागतमा जानकी मन्दिर सौन्दर्यकरणको बजेटबाट टाइल्स मार्बलको काम भएको बेला निर्माण गरिएको थियो । तर निर्माण भएको दुई वर्षपछि नै ती फाउण्टेन बिग्रियो । सम्बन्धित निकायले चासो नलिंदा आजसम्म बिग्रेको नै छ । ती बिग्रेका फाउण्टेन कसले मरम्मत सम्भार गर्ने हो भन्ने कुरा अन्यौल छ ।

प्रदेश सरकारको ती योजनाको फाइल अहिले अख्तियारमा छानबीनको क्रममा रहेको छ । सो मुद्दामा सचिवदेखि कर्मचारीसम्म केहीलाई दण्ड जरिवाना सजाय पनि भएको थियो ।

Comment

Related News