नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
१४औँ महाधिवेशनमा मधेशी क्लस्टरतर्फबाट सहमहामन्त्री निर्वाचित भएका यादवले एक कार्यकालको अनुभवलाई आधार बनाउँदै यसपटक पनि सोही पदमा दोहोरिने तयारी गरेका छन् । १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट मधेशी क्लस्टरतर्फ २ हजार २६ मत प्राप्त गरी सहमहामन्त्री निर्वाचित भएका यादवले दोस्रो कार्यकालको दाबी व्यक्तिगत महत्वाकांक्षाभन्दा संगठनात्मक अनुभवलाई निरन्तरता दिने उद्देश्यमा केन्द्रित रहेको बताएका छन् । यादवको पुनः उम्मेदवारीलाई केवल पद दोहो¥याउने चाहनाका रूपमा मात्र नभइ मधेशी प्रतिनिधित्व, कांग्रेसभित्रको शक्ति सन्तुलन, अघिल्लो कार्यकालको अनुभव र पछिल्लो राजनीतिक समीकरणसँग जोडेर हेर्न सकिन्छ ।
असोज २० गते हुने उम्मेदवारी दर्ताका लागि यादवसँगै मधेशी क्लस्टरतर्फबाट धनुषाका रामपल्टन साहले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । धनुषाकी मुक्ता कुमारी यादवले पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । तर उनले मधेशी क्लस्टरबाट उम्मेदवारी दिने हुन् वा महिला क्लस्टरबाट भन्ने अझै स्पष्ट भएको छैन । मुक्ता यसअघि गगन थापा समूहबाट सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन् । धनुषाबाट उपसभापति पदमा चन्द्रमोहन यादव तथा सदस्य पदमा मनोजकुमार साहले मधेशी क्लस्टर, प्रफुल्लकुमार घिमिरेले भूगोल र मिनाक्षी झाले महिला क्लस्टरतर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र ३ बाट मात्र महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । कांग्रेस नेता जीवनाथ चौधरीका अनुसार दुवै क्षेत्रबाट ४१–४१ जना प्रतिनिधि सहभागी छन् ।
क्षेत्र नम्बर २ र ४ भने विवादित छन् । धनुषा क्षेत्र नम्बर ४ को विवादका कारण केन्द्रले महेन्द्र यादव, चन्द्रमोहन यादव, योगेन्द्र पँजियार र नवलकिशोर यादवलाई प्रतिनिधिका रूपमा मनोनित गरी सहभागी गराएको छ। तर धनुषा कांग्रेसका सभापतिसमेत रहेका योगेन्द्र पँजियारले उक्त मनोनयनको विरोध गर्दै आफूले नमान्ने बताएका छन् । क्षेत्र नम्बर २ को विवाद भने अझै टुंगिएको छैन । देउवा समूहका प्रभावशाली मधेशी नेताका रूपमा चिनिएका यादव विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । त्यसपछि भने उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत गगनकुमार थापालाई सभापति स्वीकार गर्दै पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।
देउवा समूह छाडेर थापा नेतृत्वमा आउनुको कारणबारे यादव भन्छन्, ‘म कुनै समूहको होइन, कांग्रेसको नेता हुँ । कांग्रेस जहाँ छ, म त्यहाँ छु । देउवा वा गगन समूहभन्दा पनि पार्टीको आधिकारिकता र कांग्रेसलाई थप सशक्त र मजबुत बनाउने पक्षमा म छु ।’एकपटक सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि फेरि त्यही पदमा उम्मेदवारी दिनुको कारणबारे यादवले पदभन्दा पार्टी र संगठनलाई प्राथमिकता दिएको बताए । उनका अनुसार दोस्रो कार्यकालको दाबी व्यक्तिगत महत्वाकांक्षाभन्दा आफूले हासिल गरेको संगठनात्मक अनुभवलाई निरन्तरता दिने उद्देश्यमा केन्द्रित छ । पदाधिकारी तहमा हासिल गरेको अनुभवलाई पार्टी र मधेशबीचको सम्बन्ध थप बलियो बनाउने अवसरका रूपमा लिँदै उनले सहमहामन्त्रीमा पुनः उम्मेदवारी दिन उपयुक्त ठाने ।



