सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियाँबाट हराएका दुई बालिकालाई भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरी पहरीले परिवारको जिम्मा लगाएको छ ।
जोगिनियाँकी १६ वर्षीया अनिसा कुमारी यादव र सोही उमेरकी बबिता कुमारी गोठिया गत भदौ ११ गतेदेखि सम्पर्कविहीन भएका थिए । उनीहरू हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए । निवेदनपछि प्रहरीले खोजी सुरु गरेको थियो।
अनुसन्धानका क्रममा दुवै बालिका भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किङ इन्डिया’संस्थाकसँग समन्वय गरेको थियो । समन्वयपछि संस्थाका निर्देशक नवीन जोशीले दुवै बालिकालाई नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएका थिए ।
प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार आवश्यक समन्वय र प्रक्रियापछि बालिकाहरूलाई आइतबार साँझ परिवारको जिम्मा लगाइएको हो । प्रहरी कार्यालयमा ल्याइएका दुवै बालिकाका अभिभावकलाई बोलाएर आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



