२०८३ आश्विन २१, बुधबार ०७:२८

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश प्रदेशबाट केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको संख्या बढेको छ ।

विशेषगरी उपसभापति र सहमहामन्त्री पदमा मधेशका नेताहरूले आफ्नो दाबी प्रस्तुत गरेका छन् । यस क्रममा पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको पुनः सहमहामन्त्री पदमा उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ । १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएका यादव यसपटक देउवा समूह छाडेर सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसमा सक्रिय छन् । उनले धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनसमेत लडेका थिए । १४औँ महाधिवेशनमा यादवले मधेशी क्लस्टरतर्फ २ हजार २६ मत प्राप्त गरी सहमहामन्त्री जितेका थिए । यादवले यसपटक पनि मधेशी क्लस्टरतर्फबाट सहमहामन्त्रीमै उम्मेदवारी दिएका छन् । आफूले अघिल्लो कार्यकालमा हासिल गरेको संगठनात्मक अनुभवलाई निरन्तरता दिन र मधेश तथा कांग्रेसबीचको सम्बन्ध अझ बलियो बनाउन पुनः सोही पदमा प्रतिस्पर्धा गरेको उनको भनाइ छ ।

उपसभापतिमा चन्द्रमोहन, फरमुल्लाह र रञ्जित

मधेशबाट उपसभापति पदमा तीन नेताको उम्मेदवारी परेको छ । धनुषाका डा. चन्द्रमोहन यादवले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । उनी यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए र पछिल्लो समय शेखर कोइराला समूहसँग जोडिएर राजनीतिमा सक्रिय थिए । कोइराला समूहबाट कांग्रेसको मूलधारमा फर्किने क्रममा उनको नाम पनि चर्चामा थियो । त्यस्तै, बारा–पर्सा क्षेत्रका प्रभावशाली नेता फर मुल्लाह मन्सुरले समावेशी उपसभापतिमा उम्मेदवारी दिएका छन् । मन्सुर १४औँ महाधिवेशनमा देउवा समूहबाट मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएका थिए । उनी पूर्वश्रम तथा रोजगारमन्त्रीसमेत हुन् ।

पाँच दशक लामो राजनीतिक यात्रामा संसदीय र संगठनात्मक दुवै अनुभव हासिल गरेका मन्सुरले यसपटक सहमहामन्त्रीबाट एक तह माथि उक्लिने प्रयास गरेका छन् । सप्तरीका रञ्जित कर्णले पनि समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कर्ण नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् भने संविधानसभा सदस्यसमेत भइसकेका छन् । उनी २०६९ सालमा नेविसंघको नेतृत्वमा पुगेका थिए । २०७४ मा सप्तरीबाट प्रदेशसभा चुनाव लडेका कर्ण पछिल्लो समय पार्टीको मधेश राजनीतिमा सक्रिय छन् । सहमहामन्त्रीमा मधेशबाट महेन्द्र यादवसँगै धनुषाका रामपल्टन साह, मुक्ताकुमारी यादव र सर्लाहीका मनिष कुमार मिश्रले पनि उम्मेदवारी दिएकी छन् । मुक्ता विशेष महाधिवेशनबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री बनेकी थिइन् र पुनः सोही पदमा दोहोरिने तयारीमा छिन् ।

सप्तरीका तेजुलाल चौधरीले थारू क्लस्टरतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनी तीनपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । २०७४ मा युवा तथा खेलकुद राज्यमन्त्री र २०८१ मा युवा तथा खेलकुदमन्त्री बनेका चौधरी १४औँ महाधिवेशनमा पनि थारू क्लस्टरतर्फ सहमहामन्त्रीका उम्मेदवार थिए, तर उमाकान्त चौधरीसँग पराजित भएका थिए । धनुषाका अब्दुल सत्तारले मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले करिब १५ वर्ष उक्त संस्थाको नेतृत्व गरेका थिए । १५औँ महाधिवेशनमा मधेशले कांग्रेसको पदाधिकारी तहमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेको देखिन्छ । यी उम्मेदवारमध्ये कसले बाजी मार्छन् भन्ने विषयले कांग्रेसभित्रको शक्ति सन्तुलनमा मधेशको भूमिकालाई समेत प्रभावित गर्ने देखिएको छ ।

पदाधिकारीमा ४१ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २७ पदाधिकारी पदका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन हुने पदाधिकारीमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३ र सहमहामन्त्री ११ पद छन् । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय समिति रहनेछ ।

Comment

Related News

Latest News

Trending News