नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै राठौरले गगन थापालाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो । विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा गगन थापालाई समर्थन गर्दैै पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको उहाले बताउनुभयो । पार्टीलाई बलियो बनाएर अघि बढाउन मिलेर जानुपर्ने आजको आवश्यकता रहेको उहाको भनाइ छ । राठौरले नयाँ पुस्ता पार्टीमा प्रवेश गर्नु खुसीको कुरा भए पनि उनीहरूलाई कांग्रेसको इतिहास र मूल्यमान्यता बुझाउँदै अनुशासित र मर्यादित बनाएर अघि बढाउने जिम्मेवारी पुरानो पुस्ताको रहेको उल्लेख गर्नुभयो । त्रिचन्द्र कलेजमा आफू स्ववियु सभापति हुँदा गगन थापा सदस्य रहेको र हिजोदेखि नै एकअर्कालाई सहयोग गर्दै आएकाले आफूले असहयोग गरेको भान पर्न नदिन उम्मेदवारी फिर्ता लिएको उहाको भनाइ छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीवार निर्वाचन हुँदैछ । निर्वाचन अघि उम्मेवारहरु मत माग्न व्यस्त छन् ।


