नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी क्लस्टरतर्फ सहमहामन्त्री पदका लागि आठ जना उम्मेदवार मैदानमा उत्रेका छन् । बिहीबार हुने निर्वाचनमा पूर्वसहमहामन्त्री महेन्द्र यादव, अजयकुमार चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुँदैछ । यो प्रतिस्पर्धालाई मधेशमा कांग्रेसको पुरानो संगठनात्मक विरासतदेखि नयाँ राजनीतिक पुस्तासम्मको प्रतिनिधित्व गर्ने चुनावका रूपमा हेरिएको छ । उम्मेदवारहरूको पृष्ठभूमि हेर्दा लामो समय कांग्रेसमै रहेर संगठन निर्माण गरेका नेतादेखि अन्य राजनीतिक दल हुँदै कांग्रेस प्रवेश गरेका र छोटो समयमै केन्द्रीय नेतृत्वमा दाबी गर्ने नयाँ अनुहारसम्म छन् । यही कारण मधेसी क्लस्टरतर्फको चुनावमा अनुभव, संगठनमा निरन्तरता, राजनीतिक योगदान र पुस्तान्तरण मुख्य बहस बनेको छ।
महेन्द्र यादव : संगठनमा लामो अनुभव
आठ उम्मेदवारमध्ये धनुषाका महेन्द्र यादव कांग्रेसको संस्थागत राजनीतिमा लामो समयदेखि सक्रिय र संगठनको विभिन्न तहमा काम गरेको अनुभव भएका नेता हुन् । यादवले विद्यार्थी तथा युवा राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । त्यसपछि संविधानसभा तथा व्यवस्थापिका–संसद सदस्यका रूपमा काम गरेका उनी खानेपानी तथा सरसफाइमन्त्री समेत बनेका छन् । १४ औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादव अहिले पुनः सोही पदका लागि प्रतिस्पर्धामा छन् । एक कार्यकाल सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले संगठन सञ्चालन, पार्टीभित्रको समन्वय र विभिन्न तहका नेता–कार्यकर्तासँगको सम्बन्ध उनको राजनीतिक अनुभवलाई महत्वपूर्ण आधार उनले बनाएका छन् । महेन्द्रको अर्को महत्वपूर्ण पक्ष भनेको कांग्रेसको मूलधारमा उनको निरन्तरता हो । विभिन्न राजनीतिक उतारचढावका बाबजुद उनले कांग्रेस छाडेर अर्को दल रोजेनन् । लामो समय कांग्रेसभित्रै रहेर संगठन निर्माणमा सक्रिय रहेका कारण मधेशका कतिपय प्रतिनिधिले उनलाई पार्टीको …संस्थागत नेताÚका रूपमा हेर्ने गरेका छन् । लामो समय कांग्रेसभित्र शेरबहादुर देउवा पक्षका प्रभावशाली मधेसी नेताका रूपमा चिनिएका यादव पछिल्लो राजनीतिक परिवर्तनसँगै मधेशमा कांग्रेसको खस्केको जनाधार फर्काउन नयाँ नेतृत्वसँग सहकार्य गर्ने बाटोमा अघि बढेका हुन् । नभए पनि पार्टीभित्र विभाजनभन्दा एकता र साझा नेतृत्व आवश्यक रहेको धारणा राख्दै उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्दै उनको नेतृत्वमा सहकार्य गरेका थिए । पछिल्लो समय गगन थापाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि यादव कांग्रेसको नयाँ नेतृत्वसँग थप नजिकिए । यसलाई धेरैले पुरानो र नयाँ नेतृत्वबीच समन्वयको प्रयासका रूपमा समेत हेरेका छन् । मधेशमा कांग्रेसको संगठन विस्तार, नेता–कार्यकर्ताबीचको सम्बन्ध बलियो बनाउने र पार्टीभित्र सबै धारलाई समेटेर अघि बढ्ने अनुभव आफूमा रहेको उनको दाबी छ ।
अजय चौरसिया : कांग्रेसबाट सद्भावना हुँदै पुनः कांग्रेस
पर्साका अजयकुमार चौरसिया मधेशको पुरानो राजनीतिक पुस्ताका परिचित नेता हुन्। कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०४८ सालको निर्वाचनताका टिकट नपाएपछि सद्भावना राजनीतितर्फ लागेका थिए। पछि पुनः कांग्रेसमै फर्किए । कांग्रेसमा फर्किएपछि महासमिति सदस्यदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका चौर सिया सांसद तथा मन्त्रीसमेत भइसकेका छन् । लामो संसदीय र संगठनात्मक अनुभवलाई उनले आफ्नो राजनीतिक आधार बनाएका छन् ।
नागिना यादव : नेविसंघबाट केन्द्रीय नेतृत्वसम्म
महोत्तरीकी नागिना यादवले विद्यार्थी राजनीतिबाट कांग्रेसको यात्रा सुरु गरेकी हुन्। २०५३ सालमा अध्ययनकै क्रममा नेपाल विद्यार्थी संघसँग जोडिएर सक्रिय राजनीति थालेकी उनी १४औँ महाधिवेशनबाट मधेसी महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । पार्टीको केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय यादव अहिले सहमहामन्त्री पदको प्रतिस्पर्धामा छिन् ।
अभिषेकप्रताप शाह : फोरमबाट कांग्रेस
कपिलवस्तुका अभिषेकप्रताप शाहको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भएको होइन। तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको विद्यार्थी संगठनबाट राजनीति थालेका शाह संविधानसभा सदस्य हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका उनी त्यसयता कांग्रेसबाटै संसदीय राजनीतिमा सक्रिय छन् । अहिले उनी मधेसी क्लस्टरतर्फ सहमहामन्त्रीको दौडमा छन् ।
रामपल्टन साह : नयाँ पुस्ताको महत्वाकांक्षी दाबी
धनुषाका रामपल्टन साह कांग्रेसको नयाँ पुस्ताका प्रतिनिधि उम्मेदवारका रूपमा देखिएका छन् । उनको राजनीतिक यात्रामा दिवंगत नेता प्रदीप गिरीको प्रभाव महत्वपूर्ण मानिन्छ । कांग्रेसको संस्थागत नेताको रुपमा रहेका रामपल्टन पार्टीभित्रै क्रान्तिकारी नेताको रुपमा चिनिन्छ । पछिल्लो निर्वाचनमा धनुषा १ मा प्रतिनिधि सभाको निर्वाचन प्रतिष्पर्धी बनेका थिए । विशेष महाधिवेशनका क्रममा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन सुधारको बहसमा सक्रिय रहेका साह त्यसपछि मधेसी खुलातर्फ केन्द्रीय सदस्य बने । छोटो राजनीतिक यात्रामै पदाधिकारीका लागि गरेको दाबीलाई कांग्रेसभित्र नयाँ पुस्ताको महत्वाकांक्षी हस्तक्षेपका रूपमा समेत हेरिएको छ ।
मनिष मिश्र : छोटो समयमै पदाधिकारीको दाबी
सर्लाहीका मनिषकुमार मिश्रको कांग्रेस यात्रा तुलनात्मक रूपमा नयाँ छ। लोकतान्त्रिक समाजवादी पार्टीमा महासचिवको जिम्मेवारी सम्हालिसकेका मिश्र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेशलगत्तै सभापति गगन थापाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे। कांग्रेसमा प्रवेश गरेको छोटो समयमै सहमहामन्त्री पदमा उम्मेदवारी दिएपछि उनको दाबीलाई नयाँ राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।
मुक्ताकुमारी यादव : मधेसी महिला नेतृत्वको निरन्तरता
धनुषाकी मुक्ताकुमारी यादव पनि मधेसी महिला नेतृत्वको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा छिन् । १४औँ महाधिवेशनबाट मधेसी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो विशेष महाधिवेशनबाट मधेसी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएकी थिइन् । यसपटक उनले सोही पदमा पुनः उम्मेदवारी दिएकी छन् । मधेशका कांग्रेस प्रतिनिधिहरूबीचको प्रतिष्पर्धालाई अहिले उम्मेदवारको राजनीतिकभन्दा पनि पार्टीप्रति योगदान, संगठन निर्माणमा भूमिका, पार्टीप्रतिको निरन्तरता र आगामी दिनमा मधेशमा कांग्रेसको जनाधार विस्तार गर्न सक्ने क्षमता प्रदर्शन गर्ने अवसरको रुपमा हेरिएको छ ।


