२०८३ आश्विन २३, शुक्रबार ०९:४४

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ।

बिहीबार हुने भनिएको मतदान प्राविधिक कारण तथा मौसमको प्रतिकूलताले रोकिएपछि आज बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू उत्साहित हुँदै मतदान केन्द्रमा लाइनमा बसेका छन्।

निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। महाधिवेशनमा भाग लिन देशभरबाट आएका ७ हजार ३ सय १७ जना (नामावली रुजु अनुसार ७ हजार २५५ जना) प्रतिनिधिहरूले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मत खसाल्दै छन्।

मतदान कार्यलाई छिटो र व्यवस्थित बनाउन काठमाडौँका तीन फरक स्थानमा विभिन्न प्रदेश तथा समूह अनुसार मतदान केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय सभा गृह (मतदान केन्द्र ‘क’) मा बागमती प्रदेशका प्रतिनिधिहरू, खुलामञ्च (मतदान केन्द्र ‘ख’) मा कोशी प्रदेश तथा तराई-मधेस समूहका प्रतिनिधिहरू तथा प्रज्ञा भवन (कमलादी) को हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था मिलाइएको छ।

त्यसैगरी प्रज्ञा भवनकै तराई-मधेस हलमा मधेश प्रदेशका प्रतिनिधि र पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।

मतदान स्थलमा प्रवेश गर्नुअघि प्रत्येक महाधिवेशन प्रतिनिधिको आधिकारिक परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने व्यवस्था छ। निर्वाचन आचारसंहिता अनुसार मतदान क्षेत्रभित्र मोबाइल फोन तथा अन्य निषेधित सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ।

आज हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन्। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजे मतदान सम्पन्न हुनासाथ मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी आजैबाट मतगणना सुरु गरिनेछ।

Comment

Related News

Latest News

Trending News