यस वर्षको वडा दशैँमा दुर्गा भवानी ‘गज’ अर्थात् हाथीमाथि सवार भइ भू–लोकमा अवतरण गर्दै छिन् । हिन्दू शास्त्र अनुसार, नवरात्रा आइतबार वा सोमबारदेखि शुरु हुँदा दुर्गाको सवारी हाथीमाथि हुन्छ । हाथीमाथिको सवारीलाई शुभ–मंगल मानिन्छ । राम्रो वर्षा हुने अनि धानको उत्पादन बढ्ने आशा गरिन्छ । समाजमा सुख, समृद्धि व्याप्त हुने आकलन पनि गरिन्छ ।
तर जनकपुरधामको हकमा भने दुर्गा आगमनको पूर्वसंकेत राम्रो देखिएको छैन । कारण घटस्थापनाअघि जनकपुरधाममा दुई यस्ता घटना घटित भएका छन्, जसमा दुई युवकको ज्यान गएको छ । एक युवक जीवन– मरणको संघारमा छन् । पहिलो घटना असोज १३ गतेको हो । राति विषालु सर्पले टोकेपछि उपचारका लागि आफैँ जनकपुर प्रादेशिक अस्पतालमा भर्ना हुन आएका जनकपुरधाम– १४ मुजेलियाका ३१ वर्षीय महेश कुमार यादव उचित उपचार पाउन नसकेपछि मृत्यु वरण गर्न बाध्य भए । भनिन्छ, अवस्था बिग्रिदै गएपछि महेशलाई सघन उपचार कक्ष (आईसीयू)मा राख्नु पर्ने अवस्था आयो ।
तर प्रादेशिक अस्पतालसंग भएका ६ थान आइसीयू र ३ थान भेन्टिलेटरमा पहिले देखि नै बिरामी उपचार गराई रहेका थिए । एउटा बिरामीलाई हटाएर, अर्कोलाई उपचार गर्नु उचित थियो वा थिएन ? सम्बद्ध चिकित्सकहरुले जान्ने हो । दोश्रो घटना असोज २२ गते बिहीबार सन्ध्या ७.१० वजेको हो । जनकपुरधाम– ५ का २२ वर्षीय इर्साद खानले छूरा प्रहार गरेर स्थानीय २४ वर्षीय आमिन साफीलाई हत्या गरे । २५ वर्षीय इम्तियाज राइनलाई शख्त घाइते बनाए । आरोपी इर्साद खानले पुरानो रिसइबीको कारण दुबै युवकमाथि छूरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
छूरा प्रहार गर्ने इर्साद खान उनै युवक हुन् । जो आफूलाई ‘गुण्डा’ भन्दै फेसबुक आइडी बनाएका थिए । सामाजिक सञ्जालमार्फत धार्मिक उन्माद फैलाउँदै आएका थिए । भौतिक रुपमा अनेकाँै व्यक्तिलाई कुटपिट तथा धाक धमकी देखाउँदै आएका थिए । स्थानीय युवकहरुले पटक पटक पक्राउ गर्न लगाउँथे अनि केही मुस्लिम अगुवाहरु जिल्ला प्रहरी कार्यालय धनुषाबाट छुटाएर ल्याउने गरेका थिए । पहिलो घटना अर्थात् सर्पदंशको कारण महेश कुमार यादवको मृत्यु प्रसंगमा संघीय सांसद मनिष कुमार झाको प्रतिक्रिया थियो– प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु अस्पताल व्यवस्थापनको निकम्मापन हो ।
यता मधेश प्रदेश सरकारले प्रादेशिक अस्पतालका निर्देशक डा.जामुनप्रसाद सिंहलाई मन्त्रालय तानेर अर्का एक थान डाक्टरलाई निर्देशकको रुपमा अस्पताल खटाएका छन् । प्रादेशिक अस्पताल मधेश प्रदेश सरकारको मातहातमा छ । उपकुलपतिदेखि पियनसम्मको खटन–पटन प्रदेश सरकारले गर्छ । एन्टी स्नेक भेनम, एन्टी रेबिज खोपजस्ता अति आवश्यक औषधि बाहेकका औषधि आपूर्ति पनि मधेश सरकारले नै गर्छ । यस अर्थमा प्रादेशिक अस्पतालका निर्देशकलाई मन्त्रालय तान्ने वा उपकुलपति, रेक्टर आदिमाथि अनुसन्धान गर्ने अधिकार मधेश सरकारलाई छ । तर सत्य तथ्य पत्ता लगाउने प्रयोजनका लागि छानबिन गर्ने कि नगर्ने ? प्रादेशिक अस्पताले विज्ञप्ति प्रकाशित गरी आइसीयू खाली नरहेको ले महेश यादवलाई आइसीयुमा भर्ना गर्न नसकिएको प्रष्ट पारेको छ ।
हामी सबैलाई थाहा छ, एक सय बेडको स्वीकृति पाएको जनकपुर प्रादेशिक अस्तालमा अचेल ३ सय बेड सञ्चालनमा छ । चिकित्सक र नर्सिङ स्टाफको आभाव छ । आइसीयू र भेन्टिलेटर अपूग छ । प्रदेश सरकार लापरबाही गर्ने चिकित्सकमाथि कारवाहीसंगै मेनपावर तथा थप आइसीयू र भेन्टिलेटर जडान नगरेसम्म अर्को महेशहरुसंग पनि यस्ता घटना दोहरिन सक्छ । अतः मधेश प्रदेश सरकार प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउनु आवश्यक छ । अब कुरा गरों दोश्रो घटना अर्थात् इर्सादको छूरा प्रहारबाट २४ वर्षीय आमिन साफीको मृत्यु र २५ वर्षीय इम्तियाज राइन शख्त घाइते भएको घटनाबारे । गुण्डा नायकेको नामले फेसबुक आइडी बनाएका इर्सादका अनेकौ भिडियो सार्वजनिक सञ्जालमा भाइरल छन् । जसमा उनि जातीय र धार्मिक हिंसा फैलाउने कुरा गरेका छन् । खुकुरी प्रदर्शन गर्दै छपकाई दिने धमकी दिएका छन् ।
तर स्थानीय प्रशासनले यी विषयलाई बेवास्ता गर्यो । साइबर ब्युरोको ध्यान गएन । असलमा जिल्ला प्रहरी कार्यालय धनुषाको इर्सादमाथि विशेष कृपा थियो । कारण उनी यसै ज्यान मार्ने उद्योगका अभियुक्त थिए । २०८२ फागुन ३ गते जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले इर्सादमाथि ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो । त्यस मुद्दामा उनलाई पक्राउ गर्न प्रहरीले असार ३१ ग्ते धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति पूर्जी पनि लिइसकेको थियो । तर जानकी प्रहरी चौकीका प्रमुखसंगको विशेष सम्बन्धको कारण उनी खुल्लम खुल्ला डुल्दै आएका थिए । हाल मोहम्मद इर्साद खान तथा निजकी आमा ४२ वर्षीया सैमुन खातुन प्रहरी नियन्त्रणमा छन् ।
इर्सादजस्ता अपराधि मानसिकताका व्यक्तिको कुनै जात हुँदैन । धर्म हुँदैन । उ अपराधि मात्र हुन्छन् । अझ यस्ता प्रवृत्तिका मानिसहरु राजनीतिक, सामाजिक, प्रशासनिक संरक्षण प्राप्त गर्यो भने इर्सादहरुको जन्म हुन्छ । अतः स्थानीय प्रशासन र समाजका अगुवाहरु यस्ता कुप्रवृत्तिलाई ढाकछोप गर्नु हुन्न । प्रशासनले संरक्षण दिनु हुन्न । आज जनकपुरधामको चोक–चोकमा महेश यादवको मृत्युबारे चर्चा हुन्छ । प्रादेशिक अस्पतालको बेथितिको विरोध हुँदैछ । छूरा प्रहारबाट मृत्युवरण गरेका आमिन साफीको मृत्युले जनकपुरधामलाई पिरोलेको छ ।
चाकूबाज इर्सादलाई संरक्षण गर्ने सामाजिक अगुवाहरु तथा प्रहरीको व्यापक विरोध हुँदैछ । मधेशका जिल्लाहरुमा असइदेखि डिआइजीसम्मका घुमुवा हुन्छन् । जिल्ला प्रहरी कार्यालयमा सुविधा सम्पन्न साइबर कक्ष छ । अनि ३ महिनाअघि पक्राउ पूर्जी गोजीमा राखेर ती घुमुवाहरु के गर्दै थिए ? जबकी इर्सादको भिडियो फेसबुक र टिकटकमा रोकिएको थिएन ।


