२०८३ आश्विन २४, शनिबार ०८:५९

महोत्तरीको बलवा नगरपालिका-७ बनौटामा २४ वर्षीय विवेक सरदारको हत्या घटनामा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतको आदेशअनुसार बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुर, उनकी बुहारी सोनु ठाकुर र ज्वाइँ महोत्तरी गाउँपालिका-५ का सियाराम ठाकुरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जनाइएको छ। अशोककी श्रीमती रामकली देवीलाई भने दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको बताइएको छ।

मृतकका बुबा अशोककुमार बातर सरदारको जाहेरीका आधारमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतका न्यायाधीश सञ्जीव पोखरेलको इजलासले उक्त आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी विश्वम्भरनाथ साहका अनुसार अदालतको आदेशपछि तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। धरौटी बुझाउन नसकेपछि रामकली देवीलाई समेत बिहीबार साँझ कारागार चलान गरिएको उनले जानकारी दिए।
गत भदौ २६ गते बलवा नगरपालिका-७ बनौटास्थित अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीमा भंगहा नगरपालिका-६ का २४ वर्षीय विवेक सरदारको शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो। शव नौ टुक्रा पारेर ट्यांकीमा राखिएको र माथिबाट प्लास्टर गरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोनु ठाकुरसँग प्रेम सम्बन्ध रहेको विषयलाई लिएर विवेकलाई भदौ १५ गते घरमा बोलाइएको र त्यहीँ उनको हत्या गरिएको आशंका गरिएको छ। घटनापछि शव लुकाइएको उक्त रहस्य ११ दिनपछि खुलेको थियो ।

प्रहरी अनुसन्धानमा हत्याको योजना बनाइएको र घटनामा संलग्न रहेको आशंकामा विदेशमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुरसमेत विदेशबाट आएको खुलेको जनाइएको छ । घटनापछि उनी फरार रहेको बताइएको छ। अदालतको आदेशसँगै पक्राउ परेका चारै जना कारागार पुगेका छन् भने फरार भनिएका जितेन्द्र ठाकुरको खोजी तथा अनुसन्धानको विषय अझै बाँकी छ।

Comment

Related News

Latest News

Trending News