२०८३ आश्विन २४, शनिबार ०९:०३

उच्च अदालत जनकपुरधामले वडा दशैंको सार्वजनिक बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनको दर्ता तथा सुनुवाइ गर्ने भएको छ।

अदालतले दशैं बिदामा अत्यावश्यक न्यायिक सेवा सञ्चालनका लागि न्यायाधीशसहित आवश्यक कर्मचारी खटाउने व्यवस्था गरेको हो । उच्च अदालत जनकपुरको प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै २०८३ सालको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा सार्वजनिक बिदा हुने भए पनि केही अत्यावश्यक न्यायिक कामकारबाही नियमित गर्ने जनाएको हो ।

अदालतका अनुसार असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहनेछ । तर, न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) अनुसार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाइ गरिनेछ । त्यसैगरी, मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ९ बमोजिमका कामकारबाहीसमेत सञ्चालन हुने सूचनामा उल्लेख छ। उक्त सेवा सञ्चालनका लागि अदालतका न्यायाधीश तथा आवश्यक कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।
सूचनाअनुसार घटस्थापना, विजयादशमी र शनिबारबाहेक बिदाको अवधिमा तोकिएका न्यायिक कामकारवाही सञ्चालन हुनेछन्। अदालतले बन्दीप्रत्यक्षीकरणलगायतका निवेदन दर्ता तथा सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्धारण गरेको छ।

दिउँसो १ बजेसम्म दर्ता भएका निवेदनको सोही दिन सुनुवाइ हुनेछ भने १ बजेपछि दर्ता भएका निवेदनको सुनुवाइ भोलिपल्ट गरिनेछ । दशैं बिदाका कारण न्यायिक उपचारबाट सेवाग्राही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अत्यावश्यक न्यायिक सेवा सञ्चालनको व्यवस्था गरिएको अदालतको सूचनामा भनिएको छ।

Comment

Related News

Latest News

Trending News