२०८३ आश्विन २४, शनिबार ०९:०६

एक दशकभन्दा लामो समयदेखि मधेशकेन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुर उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका छन् ।

तेस्रो मधेश आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका झाले जनकपुरधाममा युवाहरूको नेतृत्व गर्दै सार्वजनिक तथा राजनीतिक जीवनमा सक्रियता बढाएका थिए । त्यसपछि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका थिए । पछि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमा आबद्ध भएका झा जनकपुर उपमहानगरपालिका समितिको नगर सचिवको जिम्मेवारीमा रहेर संगठन निर्माण तथा पार्टीका गतिविधिमा सक्रिय भए ।

लोसपा नेपाल र जनता समाजवादी पार्टी, नेपालबीच एकीकरणपछि पनि उनले नगर सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । लामो समय पार्टी संगठनमा सक्रिय रहेका झाले अब आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने निर्णय लिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

राजीनामा पत्रमा झाले पार्टीमा रहँदा सहयोग, माया र मार्गदर्शन गर्ने नेतृत्व, अग्रज, सहकर्मी, युवा साथी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। तर, उनले पार्टी छाड्नुको ठोस कारण र आगामी राजनीतिक गन्तव्यबारे भने स्पष्ट खुलाएका छैनन् ।

Comment

Related News

Latest News

Trending News