नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको भन्दै नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको हो । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने धारणा राख्नुभयो । उहाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो । कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्ने उहाले बताउनुभयो । सभापति थापाले मतगणनाको अन्तिम परिणाम आएसँगै जित्नेले सबै कुरा पायो र हार्नेले गुमायो भन्ने परिभाषालाई बदल्नुपर्ने र जित–हारको कुरा सकिनुपर्ने उल्लेख गर्नुभयो ।
आफुसंग प्रतिस्पर्धा गर्नुभएका श्यामचन्द्र खड्कीलाई धन्यवाद प्रकट उहाले प्रतिस्पर्धाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न महत्वपूर्ण कडीको रूपमा काम गरेको बताउनुभयो ।


