आइतवारदेखि विजयादशमी शुरु हुँदैछ । विजयादशमीका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न शक्तिपीठहरुको भव्य सरसजावट गरिएको छ ।
विजयादशमीलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूको व्यवस्थापन गर्ने युवा कमिटी र समितिहरूले सरसजावटदेखि पुजाआजाको तयारी पूरा गरेका हुन् । जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरसहित अन्नपूर्णा मन्दिर, बौद्धिमाई मन्दिर, कपिलेश्वरस्थित जेठी राजदेवी मन्दिर, बुढीयामाई स्थान, पीडरियामाई स्थान, पल्टिमाई तथा वैष्णवी देवी मन्दिरलगायतका शक्तिपीठमा पूजाआजा र दर्शनको व्यवस्थापन मिलाइएको छ । जनकपुरधामस्थित राजदेवी मन्दिरको व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ ।
त्यसैगरी, अन्नपूर्णा र बौद्धिमाई मन्दिरको व्यवस्थापन राम युवा कमिटीले तथा कपिलेश्वर क्षेत्रका जेठी राजदेवी मन्दिर, पिरडियामाई मन्दिरको पिरडिया युवा कमिटी, महारानीमाई लगायतका शक्तिपीठको व्यवस्थापन हर्दिनाथ युवा कमिटी र सम्बन्धित समितिहरूले गर्दै आएका छन् । बडादशैंका अवसरमा जनकपुरधामका शक्तिपीठहरूमा पूजाआजा तथा दर्शनका लागि नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । राजदेवी मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक व्यवस्थापकीय पक्षले तयारी गरेको बताइएको छ ।
महावीर युवा कमिटीका महासचिव भरत साहका अनुसार सम्भावित भीडलाई ध्यानमा राख्दै मन्दिर परिसरको व्यवस्थापन, दर्शन तथा पूजाआजालाई सहज बनाउने र धार्मिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी पूरा गरिएको छ । उनले बडादशैं धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावसँग जोडिएको पर्व भएकाले यसको गरिमा कायम राख्दै श्रद्धालुलाई सहज वातावरण उपलब्ध गराउन कमिटीले प्राथमिकता दिएको बताए । विजयादशमीको अवसरमा जनकपुरधाममा धार्मिक अनुष्ठानसँगै मिथिलाको मौलिक कला, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ ।
महावीर युवा कमिटीका अध्यक्ष दीपक कुमार साह ‘मिन्टु’का अनुसार दशैंका अवसरमा मिथिलाको विशिष्ट लोकनृत्य झिझिया, भजन सन्ध्या तथा रावण दहनलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । धार्मिक आस्था, सांस्कृतिक उत्सव र सामाजिक सद्भावको संगमका रूपमा रहेको बडादशैंका लागि जनकपुरधामका शक्तिपीठहरू सजाइँदै छन् । पूजाआजा, दर्शन तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित युवा कमिटी र समितिहरू जुटेका छन् । नवरात्रा पनि शुरु, आज घटस्थापना विजयादशमीसँगै नवरात्रा पनि परम्परा अनुसार आइतवारदेखि नै शुरु भएको छ ।
आश्विन शुक्ल प्रतिपदाका अवसरमा विजयादशमीको पहिलो दिन घटनास्थापनाबाट शुरु हुनेछ । नेपाल पञ्चाङ्गका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । नवरात्रका अवसरमा आज राजदेवी मन्दिर लगायतका शक्तिपीठसहित घर घरमा कलश राखेर घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना शुरु गरिनेछ । नवरात्राको पहिलो दिन शैलदेवीको पूजा गरिनेछ । यस्तो दोश्रो दिन सोमवार २६ गते ब्रम्हाचारिणी, तेश्रो दिन मंगलवार २७ गते चन्द्रघण्टा माताको, चौथो दिन बुधवार २८ गते कुष्माण्डा देवीको पूजा गरिनेछ ।
पाँचौ दिन बिहीवार २९ गते स्कन्दमाता, छठौँ दिन शुक्रवार ३० गते कात्यायणी देवीको पूजा गरिनेछ । यसै दिन फुलपातीका लागि बेल निमन्त्रणा विधि सम्पन्न गरिनेछ । सातौँ दिन शनिवार ३१ गते कालरात्रिको पूजासँगै शक्तिपीठका देवीहरुको पुजाका लागि फुलपाती भित्रियाइनेछ । आठौँदिन अष्टमी तिथि आइतवार कात्तिक १ गतेका दिन महागौरीको पूजा गरिनेछ । यसै दिनलाई कालरात्री भनेर समेत पुजिन्छ । यसैदिन राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठहरुमा बलिप्रदान समेत गरिनेछ । अष्टमी तिथिको अवधि लामो भएका कारण सोमवार २ गतेका दिनपनि महागौरी देवीकै पूजा गरिनेछ ।
अन्तिम नवौँ दिन नवमी तिथिका दिन मंगवार सिद्धीदात्री देवीको पूजाआजा गरिनेछ । यसपछि दशमी तिथि बुधवारका दिन नवदुर्गास्वरुप भगवतीको विशेष पूजाआजा गरी देवी विर्सजन गरी समापन गरिनेछ । यसैदिन टिका ग्रहण समेत गरिनेछ ।


