२०८३ आश्विन २५, आईतवार १३:२३

बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्। बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ।

आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौंजाजोड्ने झोलुंगे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुंगे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्रीगाउँपालिका-३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बाढी तथा पहिरोको उच्च जोखिममा रहेको गोरखाको जगत् इलाकाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ६ जनाको सकुशल उद्धार गरिएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनाको फौजलाई हवाई तथा स्थलमार्ग दुवैतर्फबाट प्रभावित क्षेत्रमा खटाइएको छ।

काठमाडौंमा तैनाथ सेनाको संयुक्त शीघ्र प्रतिक्रिया टोलीलाई हेलिकप्टरमार्फत जगत् तथा आसपासका जोखिमयुक्त क्षेत्रमा पठाइएको छ। प्रभावित नागरिकको सुरक्षा, राहत सामग्री वितरण र सुरक्षित स्थानान्तरणका लागि थप हेलिकप्टरहरूसमेत परिचालन गरिएका छन्।

बूढीगण्डकीमा आएको भीषण बाढी त्रिशूली नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रहरू बेनीघाट, मुग्लिन, देवघाट हुँदै चितवन र नवलपरासीसम्म जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यसलाई ध्यानमा राख्दै गृह मन्त्रालय तथा स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

बाढीको बहाव सामान्य नभएसम्म नदी किनार आसपास नजान र सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जारी गरेका सूचनाहरूको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Comment

Related News

Latest News

Trending News