संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी विस्तार गर्ने उद्देश्यले कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
यही असोज २७ र २८ गते आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरू सहभागी हुनेछन् ।
सम्मेलनको मुख्य उद्देश्य संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै प्रदेश सरकार हरूले भोगिरहेका साझा समस्या समाधानका लागि साझा धारणा निर्माण गर्नु रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशहरूबीच अनुभव आदानप्रदान, अधिकारको प्रभावकारी प्रयोग, कानुनी जटिलताको समाधान र अन्तरप्रदेश सहकार्यका सम्भावना पहिचान सम्मेलनका प्रमुख प्राथमिकता हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले संघीयताको मर्म अनुसार प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत विषयमा सम्मेलन केन्द्रित हुने बताए । प्रदेशहरूले हालसम्म गरेका काम, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा कमजोरीको समीक्षा गरी सुधारका उपाय खोजिने उनको भनाइ छ । संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता र तीन तहका सरकारबीचको समन्वयलाई व्यवस्थित बनाउने विषयमा सम्मेलनमा गहन छलफल हुनेछ ।
अधिकारको प्रयोग र जिम्मेवारी निर्वाहका क्रममा देखिएका अस्पष्टता तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्न आवश्यक साझा पहलका विषयमा समेत विचारविमर्श गरिनेछ । त्यस्तै, कानुन निर्माण तथा कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्याको पहिचान गरी कानुनी र नीतिगत सुधारका सम्भावना खोजिनेछ । प्रदेशहरूमा भएका सफल अभ्यासलाई अन्य प्रदेशमा विस्तार गर्ने र एकअर्काका अनुभवबाट सिकेर कार्यसम्पादन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकता दिइनेछ ।
सम्मेलनले प्रदेशहरूबीच सहकार्य र साझेदारीको दायरा विस्तार गर्ने विषयलाई विशेष प्राथमिकता दिनेछ । दुई वा दुईभन्दा बढी प्रदेशको साझा हितसँग जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने, साझा समस्या समाधानका लागि समन्वय गर्ने तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने सम्भावनाबारे छलफल गरिनेछ । प्रदेश सरकारहरूबीच नियमित संवाद र सहकार्यको आधार बलियो बनाउन सके विकास निर्माण, नीति निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन सकिने अपेक्षा आयोजकले गरेको छ । यसका लागि प्रदेशहरूबीच सफल अभ्यास, कार्यानुभव र सिकाइ आदानप्रदान गर्दै साझा समस्या समाधानका व्यावहारिक उपाय पहिचान गरिनेछ ।
वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन पनि सम्मेलनको महत्वपूर्ण एजेन्डा हुनेछ । प्रदेश सरकारहरूको वित्तीय क्षमता, स्रोतसाधनको परिचालन र विकास निर्माणका कामलाई परिणाममुखी बनाउने विषयमा छलफल हुनेछ । संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न प्रदेशहरूलाई आवश्यक नीतिगत तथा संस्थागत आधार तयार पार्ने विषयमा समेत साझा समझदारी विकास गर्ने प्रयास गरिनेछ । सम्मेलनमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका विषयमा पनि छलफल हुनेछ ।
विपद्का बेला प्रदेशहरूबीच समन्वय, सूचना तथा अनुभव आदानप्रदान र आवश्यक स्रोतसाधनको परिचालनलाई प्रभावकारी बनाउने उपाय खोजिने मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश सरकारका अनुसार सम्मेलनबाट प्रदेशहरूका साझा समस्या पहिचान गरी समाधानका लागि सहकार्यको आधार निर्माण गर्ने, संघीय शासन प्रणालीको कार्यान्वयनलाई थप परिणाममुखी बनाउने र प्रदेश सरकार हरूबीचको सम्बन्ध सुदृढ गर्ने अपेक्षा गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले प्रदेशहरूबीच साझा धारणा निर्माण गर्नुका साथै संघीयताको प्रभावकारी कार्यान्वयन, कानुनी तथा नीतिगत सुधार र अन्तरप्रदेश साझेदारी विस्तारका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।


