जनकपुरधाममा छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपीसँग जोडिएको आरोपमा एक जना सशस्त्र प्रहरी जवान पनि अनुसन्धानमा तानिएका छन् ।
हत्या आरोपी गुण्डाले परिचित इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन् । जनकपुरधाममा बिहीबार साँझ इर्सादले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका– ५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो ।
अर्का युवक २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते छन् । घटनामा संलग्न इर्सादलाई स्थानीय स्तरमा ‘गुण्डा’ भनेर पनि चिनिने प्रहरी अनुसन्धानले भेट्टाएको छ । उनीसँग सशस्त्र प्रहरी जवान मण्डलले केही महिना अघि रिल्स तथा टिकटक बनाएका थिए । भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र गाली गर्दै हिंसा गर्ने चेतावनी दिइरहेका सुनिन्छन् । जसमा सशस्त्र प्रहरी जवान मण्डल त्यसलाई प्रोटेक्सन गरेको देखिन्छन् ।
इर्सादले अर्को समुदायलाई लक्षित गरी हिंसा तथा सद् भाव बिगार्ने कयौं भिडियो रिल्स तथा टिकटक बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।


