२०८३ आश्विन २७, मंगलवार ०७:२२

बडा दशैँको तेस्रो दिन मंगलबार माता दुर्गाको नवदुर्गामध्ये तेस्रो स्वरूप माता चन्द्रघण्टाको पूजा–आराधना गरिँदैछ ।

यस अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजाका लागि श्रद्धालु भक्तजनको भीड लागेको छ । नवरात्रभर नवदुर्गा भवानीको विधिपूर्वक पूजा–आराधना गर्ने धार्मिक परम्परा अनुसार तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गरिन्छ ।

धार्मिक मान्यताअनुसार नवरात्रको अवधिमा श्रद्धा र भक्तिपूर्वक व्रत बसी देवीको आराधना गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । हिन्दू धर्मावलम्बीले विधिपूर्वक घरघरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यस अवधिमा देवी दुर्गाका विभिन्न स्वरूपको विशेष पूजा– आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ ।

धार्मिक ग्रन्थ अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसको वध गरी दुष्ट शक्तिमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडेर नवरात्रमा देवीका विभिन्न स्वरूपको विशेष पूजा गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवीसम्बन्धी विभिन्न स्तोत्र र स्तुतिको पाठ गर्ने प्रचलन छ ।

यस अवसरमा देशभरका प्रसिद्ध शक्तिपीठमा पूजाआराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । घटस्थापनाका दिन छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा ग्रहण गर्ने तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्परा रहिआएको छ ।

Comment

Related News

Latest News

Trending News